सोमबार, १५ पुष २०८१

बुढीगंगामा खुल्यो एकै पटक ३७ जनाका लागि जागिर

बाजुरा : बुढीगंगा नगरपालिकाले विभिन्न पदमा नयाँ कर्मचारी आह्वान गरेको छ । पालिकाले स्वास्थ्य, कृषि र सामाजिक मनोपरामर्शका लागि कर्मचारी आह्वान गरेको हो । कृषि क्षेत्रको आधुनिकरणका लागि एक वडा एक प्राविधिक कार्यक्रम अन्र्तगत सबैभन्दा बढी कर्मचारी आह्वान गरेको हो ।

बुढीगंगा नगरपालिकाले यो वर्ष कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ । किसानकै बारीमा पुगेर प्राविधिक ज्ञान सिप बारे जानकारी दिने र किटनाशक समस्याको उपचार विधि बारीमै गर्ने नीति अनुसार नै १० वडाका लागि २० जना कृषि तथा पशु विकास प्राविधिक आह्वान गरिएको नगर प्रमुख रामबहादुर बानीयाँले बताएका छन् ।

एक वडाका लागि एक कृषि र एक पशु सेवा तर्फको प्राविधिक नियुक्तीको तयारी गरिएको छ । यस्तै १ जना मनोसामाजिक सेवा प्रमुख र १० जना मनोसामाजिक सहायक पदमा कर्मचारी माग गरेको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले बताएका छन् ।

यस्तै पालिकाले रेडियो ग्राफी एक जना, ल्याब असिस्टेन्ट एक जना, अहेब एक जना, अनमी दुई जना र नायक पशु स्वास्थ्य प्राविधिक एक जना कर्मचारीका लागि विज्ञापन गरेको हो । यति ठूलो मात्रामा पालिकाले पहिलो पटक कर्मचारी आह्वान गरेको हो ।

कृषि र पशुपालन क्षेत्रलाई पहिलो प्राथमिकता राख्ने नीति अनुसार नै कृषि र पशु सेवाका प्राविधिकको संख्या बढी माग गरिएको पालिकाले बताएको छ । वडामा २ जना प्राविधिक खटाउने र कार्य सम्पादन मूल्याकंनको आधार कृषिजन्य बस्तु उत्पादनलाई मान्ने कार्यविधी पालिकाले बताएको छ । 

पालिकाले जारी विज्ञापनमा १४ गतेदेखि लागु हुने गरी १५ दिनको समय तोकेको छ । प्रति विज्ञापनका लागि ५ सय रुपैया दरखास्त दस्तुर पनि तोकिएको जारी विज्ञापनमा उल्लेख छ । 

May be an image of text

प्रतिक्रिया दिनुहोस