शुक्रबार, ०४ असोज २०८१

बाजुरा पुगेर प्रहरी महानिरीक्षक कुँवरले भने– संरचना जत्तीकै शान्ति सुरक्षा र जनसेवामा पनि प्रहरी अब्बल हुनु पर्छ

बाजुरा : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी जनताको सेवा र शान्ति सुरक्षामा सदैव प्रतिवद्ध र इमान्दार हुनु पर्नेमा जोड दिएका छन् । जिल्ला प्रहरी कार्यालयको भवन उद्घाटनका लागि बाजुरा पुगेका प्रहरी महानिरीक्षक कुँवरले शान्ति सुव्यवस्था विना देशको विकास र समृद्धिको आधार नै निर्माण गर्न नसकिने धारणा राखेका छन् ।

बाजुरामा निर्माण गरिएको प्रहरीको प्रशासनीक भवन, ब्यारेक, हिरासत, निवास तथा मेश घरहरुको सयुक्त उद्घाटन गर्न कुँवर बाजुरा आइपुगेका हुन् । प्रहरी कार्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रममा कुँवरले भवन उद्घाटनसँगै प्रहरीले दिने सेवा प्रवाहमा समेत सुधार हुने बताएका छन् । 

सुरक्षित र सुविधासम्पन्न भवन निर्माणले प्रहरीको मनोवल बढ्नुका साथै उर्जा र हौसला थपिएको विश्वास व्यक्त गरेका महानिरीक्षक कुँवरले भवन उद्घाटनसँगै जिम्मेवारी र दायित्व बढेको महशुस प्रहरीले गर्नु पर्नेमा जोड दिए । ‘मेरो निर्देशन छ, जनताको सेवा, देशको रक्षा, अपराधीलाई, कानुनको कार्यान्वयन र देश समृद्धिको यात्रामा प्रहरी इमान्दार पूर्वक सहयोगी बन्नु पर्छ, महानिरीक्षक कुँवरले भन्नु भयो ।’

नयाँ भवनले चुनौति र जिम्मेवारी अझै बढेको छ । बढी मेहनत र जिम्मेवार हुन जरुरी देखिन्छ । प्रहरीका लागि भवन मात्रै राम्रो सुविधा सम्पन्न भएर हुदैन्, बस्ने संरचना जस्तै शान्ति सुरक्षा र जनसेवामा पनि प्रहरी अब्बल हुनु पर्ने सुझाव कुँवरको थियो । बाजुरा आउने र यहाँको अवस्था बारे जानकारी लिने, जनतासँग जोडिने कुरालाई बिशिष्ठ क्षणको रुपमा लिएको कुँवरको भनाई थियो । 

प्रत्येक नागरिकलाई शान्ति सुरक्षाको महशुस गराउनु प्रहरीको दायित्व हो, प्रहरीको अधिकारका लागि प्रहरी प्रधान कार्यालय नक्साल प्रतिवद्ध र जिम्मेवार हुनेमा विश्वस्त हुनपनि कुँवरले आग्रह गरेका छन् । निष्ठा, इमान र जिम्मेवारी नर्बिसेर काम गर्न र दुरदराजका नागरिकलाई सेवा दिन कुनै कुसर बाँकी राख्न नहुने र व्यक्तिगत लाभ भन्दा माथि कर्तव्य निष्ठा र इमानलाई राख्न निर्देशन दिएका छन् । 

महानिरीक्षक कुँवरसँगै प्रहरी प्रवक्ता डिआइडी कुँवेर कठायत र सुदूरपश्चिम प्रहरी प्रमुख डिआइडी भरत बोहरा सहीत पनि बाजुरा आएका हुन् । उहाँहरुको टोलीले जिल्ला प्रहरी बाजुराको टोलीसँग अलग्गै छलफल र भेटघाट पनि गरेका थिए । महानिरीक्षक कुँवरले प्रहरीका लागि बनेका संरचना सबैका साझा र समुदायका पनि सम्पत्ती भएकोले सुरक्षित राख्न र अपनत्व सहीतको दायित्व बोध गर्न सबैलाई आग्रह गरेका थिए ।

भवन उद्घाटन समारोहमा बडीमालिका नगरपालिकामा प्रमुख अमर खड्काले प्रहरीले शान्ति सुरक्षासँगै समृद्धिको यात्रामा समेत राज्यलाई बलियो सा दिन आग्रह गरेका छन् । तत्कालिन बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटको कामलाई स्मरण गर्दै खड्काले प्रहरीले सामाजिक शान्ति, कुमान्यता, र अराजकता अन्त्यका लागि जिल्ला स्तरबाटै कडाइ गर्न सुझाव दिएका छन् ।

नगर प्रमुख खड्काले प्रहरीमा लिइने भर्ना र भर्नाका लागि तोकिने कोटामा बाजुरा जस्ता जिल्लालाई बिशेष स्थान र महत्वमा राख्न र बाजुरामै प्रहरी तालिम केन्द्र सञ्चालन गरे जग्गा समेत उपलब्ध गराउने वतन दिएका छन् । नगरपालिकाका तर्फबाट नगर प्रमुख अमर खड्का र उपप्रमुख नन्दा थापाले महानिरीक्षक कुँवर सहीतको टिमलाई मायाको चिनो सहीत स्थानीय अल्लोको उत्पादन समेत हस्तान्त्रण गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले प्रहरीले जनताको मन जित्न र शान्ति सुरक्षालाई मजबुद बनाउन आफ्नो आचार र सेवा प्रवाहको शैलीमा सुधार गर्न आवश्यक रहेको सुझाव दिएका थिए । उनले केन्द्रबाटै सबैतिर सेवा प्रवाहको शैलीमा सुधार ल्याउने नीति ल्याउने वातावरण निर्माण गरेर विकास र शान्ति सुरक्षामा प्रहरीको भूमिका प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

कुँवरको स्वागतका लागि जिल्ला प्रहरी कार्यालय बाजुराले भव्य स्वागत सहीत प्रहरीका तर्फबाट सलामी अर्पण गरिएको थियो । भने भवन निर्माण साझेदार कम्पनीलाई सम्मान समेत गरिएको थियो । भवन ८ करोड ७६ लाख ६७ हजार ६ सय ६४ रुपैया लागतमा निर्माण गरिएको हो ।  

जिल्ला प्रहरी कार्यालयको तर्फबाट कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक कविन्द्र सिंह बोहराले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक किशोरसिंह ऐरीले गरेका हुन् । सुदूरपश्चिम प्रहरी प्रमुख एवं डिआइजी भरत बोहराले अन्तमा धन्यवाद मन्तव्य राखेका थिए । 

आचार्य गुरु गोविन्द्र जोशी पञ्चकन्या र पञ्च ब्राह्मणबाट विधिवत रुपमा भवन उद्घाटन तथा गृह प्रवेश गराइएको थियो । प्रहरी महानिरीक्षक कुँवरले नै उद्घाटन शिलालेख अनावरण पछि रिवर काटेर गृह प्रवेश सहीत नवनिर्मित भवनको अवलोकन गराइएको थियो । 

बाजुरा स्थित बडीमालिका मन्दिरको हेलिकप्टर मार्फत अवलोकन गरेका महानिरीक्षक कुँवरको टोली आजै अछामको साँफेबगर हिँडेको छ । उहाँहरुको टोली हेलिकप्टरबाटै सुर्खेतबाट बाजुरा आएको हो । बाजुरा आगमनकै अवसरमा प्रहरी श्रीमति संघका तर्फबाट बाजुराको बडीमालिका २ र ९ को अति विपन्न मुक्त हलिया मस्तीका परिवारलाई राहत सहयोग समेत गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस