शुक्रबार, ०४ असोज २०८१

गौमुलको शैक्षिक सुधारमा सहकार्य गर्न भिएसओसँग संवाद

बाजुरा : गैर सरकारी संस्था भिएसओ (भोलेन्टीयर सर्भिस ओभरसिइज) ले गौमुल गाउँपालिकाको शैक्षिक अवस्था बारे जानकारी लिएको छ । विद्यालय संरचना, स्थानीय पाठ्यक्रम विकास र विद्यार्थीको शैक्षिक गुणस्तर बारे पालिका अध्यक्ष हरिबहादुर रोकाया सहीतको टोलीसँग जानकारी लिएको हो ।

भिएसओका नेपाल देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) जयशंकर लाल कर्ण र भिएसओ प्रमुख शिखा श्रेष्ठले गाउँपालिकाको कार्यालय घटमुना पुगेर भौगोलिक विकटता देखिएको पालिका पालिकाको शैक्षिक सुधारमा गर्न सकिने सहयोग र सहकार्य बारे छलफल गरिएको छ । 

पालिका, भिएसओ र पीसविन नेपालका तर्फबाट त्रिपक्षीय संवाद गरिएको पालिका प्रवक्ता देवबहादुर रोकायाले बताएका छन् । भिएसओ नेपालको गुणस्तरीय शिक्षा, स्वास्थ्य अवस्थाको सुधार सहीतका क्षेत्रमा लामो समयदेखि कार्यरत छ ।

विगतका तीन वर्षदेखि बाजुराका बडीमालिका र बुढीगंगा नगरपालिकामा पनि शिक्षा र स्वास्थ्य सुधारका क्षेत्रमा पीसविन नेपाल सँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिरहेको छ । भिएसओको टिमलाई गाउँपालिकाका तर्फबाट अध्यक्ष हरिबहादुर रोकायाले फूल माला अविर सहीत स्वागत गरेका थिए ।

विद्यालयका भवन र भौतिक संरचना निर्माण भएर मात्रै गुणस्तर सुधार नहुने देखिएकोले गुणस्तर र नयाँ सिप तालिम र अभ्यास प्राप्त योग्यता विकास गराउने कार्यक्रम पालिकाका लागि आवश्यक रहेको अध्यक्ष रोकायाले भिएसओको टिमसँग आग्रह गरेका छन् । 

शैक्षिक सुधार र दुरदराजको बस्तीलाई स्वास्थ्य सेवाको पहुँचसँग जोड्ने पालिकाको अभियानसँग सहकार्य गर्ने परियोजना विकासमा सहयोग र सहकार्य गर्न भिएसओको टिमसँग आग्रह गरिएको अध्यक्ष रोकायाले बताएका छन् ।

भिएसओका देसीय निर्देशक जयशंकर लाल कर्णले जवाफमा गौमुल गाउँपालिकासँग सहकार्य गर्न आफूहरु तयार रहेको बताएका छन् । ढिलो चाँडोको कुरा मात्रै हो, पीसविन र लालबहादुर ओली जीसँगकै समन्वयमा रहने गरि छिट्टै केही परियोजना विकास गरेर शिक्षा विकासको अभियानमा गौमुलसँग सहकार्य गरिने विश्वास दिलाएका छन् । 

निर्देशक शंकर ३० वर्ष पहिला केयर नेपालको जिल्ला परियोजना प्रमुख भएर बाजुरा आएका थिए । तीन वर्ष बाजुरा बसेका उनले पुरानै अवस्थामा निर्माण गरिएका विकास निर्माणको अवस्था बारे जानकारी लिनुका साथै नयाँ आवश्यकता बारे पनि चासो राखेका थिए । बाजुरासँगको राम्रो सम्बन्ध र मायाले नै लामो समय पछि फर्किएर आएको समेत कर्णले बताएका थिए । 

पीसविन नेपालका सल्लाहकार लालबहादुर ओलीले गर्ने इच्छा शक्ति भएका जनप्रतिनिधीको टिम भएकोले गौमुलका लागि स्वास्थ्य र शिक्षा विकासको क्षेत्रमा भिएसओले सहकार्य गरिदिन अनुरोध गरेका थिए । 

भिएसओका प्रमुख शिखा श्रेष्ठले पनि संस्थाको उदेश्य नै शैक्षिक सुधार र समाज विकास भएकोले गौमुल गाउँपालिकाको नीति र योजनालाई सफल बनाउने यात्रामा जोडिन आफूहरु तयार रहेको बताएकी थिइन् । 

अध्यक्ष हरिबहादुर रोकायाकै कार्यकक्षमा गरिएको छलफल तथा संवाद कार्यक्रममा वडा अध्यक्ष कलकबहादुर सिंह, देवबहादुर रोकाया, बडीमालिका २ का वडा अध्यक्ष डम्मर महत र रेडियो बाजुराका कृष्ण ओली पनि सहभागि थिए । टोलीले बडीमालिकाको तरकारी पकेट क्षेत्र रजालीको पनि अनुगमन गरेका थियो । 

नगर प्रमुख अमर खड्का, एमाले नेता काशी विक वडा अध्यक्ष डबल रोकाया, निवर्तमान अध्यक्ष वीरबहादुर रावल सहीतले भव्य स्वागत गरेका थिए । केयरले नै निर्माण गरेका धारा र तरकारी खेती गर्न सुरुवादमा गरिएको तालिम बारे पनि छलफल गरिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस