शनिबार, ०६ पुष २०८१

बार्जु सँस्कृति जोगाउन महिनाको १ र १५ गते बाजुरामा नियमित लाइभ देउडा हुने

बाजुरा : बाजुरा देउडा सँस्कृतिका लागि उद्गम थलो नै हो । बाजुरामा रत्नाकर जैशी देखि हालका शंकरमल्लसम्म आइपुग्दा दर्जनौ देउडा खेलाडी जन्मीएको इतिहास छ । सिंगो सुदूरपश्चिम त्यसैमा बाजुरा जिल्लाको आफ्नै मौलिक पहिचान र मुल सँस्कृति नै देउडालाई लिने गरिएको छ । देउडा बार्जुसँस्कृतिसँग जोडिएको साहित्यीक र साँस्कृतिक विधा हो । 

लाइभ देउडा लगाउने चर्चामा रहेका शंकर मल्ल, सुना विक, राइकला बुढा, रामबहादुर थापा, लोकमणी ओली सहीत दर्जनौ देउडा खेलाडी देखि संगीत बजारमा देउडा गीतकै कारण स्थापित लालबहादुर थापा, विनोद कुमार बाजुराली, राजेन्द्र शाह विपी, रेखा जोशी, प्रकाश थापा सुप्रिम मल्ल सहीत बाजुराकै हुन् ।

कला सँस्कृतिको क्षेत्रमा धनी भएपनि त्यसको संरक्षण र संवद्र्धनमा खासै चासो देखिने गरेको छैन् । व्यक्तिगत रुपमा आफू स्थापित हुने कुरामा बाजुरा उर्वर देखिएपनि संस्थागत र देउडाको मौलिकता जोगाउन मुस्कील देखिएको छ । आधुनिकपनको विकासले सुदूरकै ढुकढुकी भनिएको देउडाको आन्तरिक जीवन र मर्म लोभ हुने खतरामा छ । 

मेला महोत्सव हुँदा आधुनिक र लोक गीत अनि संगीत भरिएका देउडा मात्रै विक्री हुन्छन् । गाउने कलाकार देखि हेर्ने दर्शकलाई रुचिको विषय पनि कम हुदै गएको देखिन्छ । देउडा गीतलाई जोगाउने गरि लाग्नेहरु नै देखिदैनन्, भन्छन्, देउडा खेलाडी गंगा विक । 

मेलापात, माया प्रेम, मिलन विनोद, राजनीति सबै विषयलाई लाइभमै सवाल जवाफ गर्ने र प्रश्न उत्तर गर्ने क्षमता देउडा खेलाडीमा हुने गरेको छ । अरु भाका र गीतको भन्दा रस पनि देउडामा नै मिल्ने गरेको स्वीकार गर्छन्, लेखक जहरसिंह थापा । यी सबै महिमालाई ध्यानमा राखेर सुदूर साहित्य प्रतिष्ठानले लाइभ देउडा कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

प्रतिष्ठानले देउडाकै जगेर्नाका लागि महिनाको २ दिन खुला देउडा खेलको आयोजना गर्ने अध्यक्ष हर्कबहादुर खडकायले बताएका छन् । देउडा सँस्कृति लोभ हुदै गयो, गाउने भएर पनि सम्मान र संरक्षण गर्न सकिएको छैन्, त्यसैले महिनाको १ गते र १५ गते अनिवार्य लाइभ देउडा खेल आयोजना गर्न लागिएको अध्यक्ष खडायतले भन्नु भयो ।

सुदूर साहित्य प्रतिष्ठानको प्रस्तुती लाइभ देउडा गौड्या भेट कार्यक्रमको नाम राखिएको छ । कार्यक्रम संयोजनको जिम्मा देउडा खेलाडी शंकर मल्ललाई दिएको प्रतिष्ठानका सदस्य नरेन्द्र थापाले जानकारी दिएका छन् । पहिलो दिन मार्तडीमा शंकर मल्ल र सुना विकबीच लाइभ देउडा आयोजना गरिएको छ ।

बनपाखा, घाँस पात गर्दा पनि गुनगुनाउने, वारी वारी हुने प्रेम जोडीले सवाल जवाफ गर्ने, माइती छोड्दा वा प्रदेश गएका आफन्तलाई समेत देउडा गीतकै मार्फत तिर्सना मेट्न सुख दुख सोध्ने परम्परा विस्तारै लोभ हुने अवस्था आयो, त्यसकै संरक्षणका लागि प्रतिष्ठानले लाइभ देउडालाई निरन्तरता दिन प्रतिष्ठान लागि परेको हो ।

प्रतिष्ठनले बाजुरामा देउडा प्रतियोगिता, महोत्सव र अन्य साहित्यीक र साँस्कृतिक कार्यक्रम पनि आयोजना गर्दै आएको छ । जिल्लाका सबै टोल र बस्तीमा पुग्ने, सबै टोल बस्ती र गाउँका देउडा भाकालाई समेट्ने र त्यसको दृश्य सामाजिक सञ्जालमा लाइभ गर्ने तयारी प्रतिष्ठानले गरेको छ ।

देउडालाई देश विदेशसम्म थप विस्तार र विकास गर्नु छ, कला र गला भएकाहरुको सम्मान र संरक्षण पनि चाहिन्छ, भन्ने लक्ष्य सहीत गरिएको प्रयास निकै पं्रशसनीय र उपलब्धी मुलक हुने विश्वास देउडा पारखी तथा पशु सेवा विकास अधिकृत सिद्धराज जैशीको भनाई छ ।  

देउडा बाजुराको पहिचान हो, सिंगो जिल्लाको पहिचानको संरक्षण र प्रवद्र्धन गर्नु सबैको जिम्मेवारी हो । जिल्लामा गर्नु पर्ने मध्येको एक अनिवार्य काम प्रतिष्ठानले गरेर राम्रो गरेको र त्यसको निरन्तरता आवश्यक रहेको भन्छन्, बडीमालिका नगरपालिका ८ का वडा अध्यक्ष चन्द्र थापा । 

देउडा सबैका लागि बुझ्न नसकिने भएपनि गीतको भाव मन छुने हुन्छ । सुन सुनौ सुनो लाग्ने, सुनि हाले मन दुखाई हाल्ने साहित्यको विधा हो, देउडा । बाजुराले आफ्नो सम्पत्तिका रुपमा देउडा सँस्कृतिको विकास र संरक्षण आवश्यक देखिन्छ । कला साहित्य क्षेत्रको संरक्षणमा लागिहरु बाहेक स्थानीय पालिकाका तर्फबाट कुनै पहल र लगानी गरिएको छैन् । 

प्रतिक्रिया दिनुहोस