शुक्रबार, ०४ असोज २०८१

गौमुलमा असई ऐरी आएपछि प्रहरीको सक्रियता बढ्यो, १० पेटी मदिरा बरामद गरी नष्ट

बाजुरा : ईलाका प्रहरी कार्यालय गौमुलले मदिरा नियन्त्रणमा सक्रियता बढाएको छ । मंसिर ७ गते गौमुल ईलाका प्रहरी कार्यालय सम्हाल्ने गरी नयाँ असई हिक्मतसिंह ऐरी आएपछि प्रहरीले अवैध मदिरा नियन्त्रणमा सक्रियता बढाएको हो । 

असई आएको १५ दिनभित्र गौमुल गाउँपालिकाका विभिन्न होटेल पसलमा लुकीछिपी अवैध रुपमा विक्रिवितरण र असारपोसर भईरहेको १० पेटी मदिरा बरामद गरी नष्ट गरेको छ । गाउँपालिकाले लागु गरेको मदिरा ऐन, नियम कार्यान्वयन सहीत व्यवस्थापनमा थप कडा पार्न प्रहरी सक्रिय बनेको हो 

गाउँपालिकाको केन्द्र रहेको घट्मुना बजार, मालिवन र सुर्का बजारका विभिन्न होटल, पसलबाट रहर र फाइबार नामक कमसल मदिरा बरामद गरी सबै सरोकारवालको रोहवरमा सोमबार नष्ट गरिएको प्रहरी सहायक निरीक्षक ऐरीले बताएका छन् । ओसारपोसार र विक्रि वितरणमा संलग्न उनीहरुलाई जरिवाना सहीत छोडिएको छ ।

गौमुल गाउँपालिकामा प्लाष्टिकको बोतलमा प्याङ्गि गरेको जुनसूकै मदिरा विक्रि गर्न पाईदैन्, काँचको बोतलमा प्याङ्गि मदिरा पनि पसल दर्ता सहीत गाउँपालिकाले बनाएको मदिरा कार्डको प्रयोग गरेर मात्र पिउन र बेच्न मिल्छ, पिउनेका लागि पनि एकीन एमएलको रुपमा निर्धारण गरिएको छ । तर पालिकाको नियम विपरीत विक्रि वितरण र सेवन गर्न थालेपछि मदिरा नियन्त्रण अभियानमा प्रहरीले सक्रियता बढाएको ऐरीले बताएका छन् ।

मदिरा सेवनका कारण समाजमा हुने अनेक प्रकारका अनैतिक गतिविधीलाई निराकरण गर्नका लागि गौमुल गाउँपालिकाले मदिरा व्यवस्थापनको नीति अवलम्बन गरेको थियो । समाज अशान्त हुने, दिनप्रतिदिन द्धन्द सिर्जना हुने जस्ता अवाञ्छित गतिविधि बढ्न थालेपछि स्थानीय सरकारले मदिरा व्यवस्थापनको नीति अघि सारेको थियो ।

मदिरा सेवनबाट विभिन्न अनैतिक क्रियाकलाप बढेको र गाउँपालिकाले रोक लगाएको मदिरा गलत बाटोबाट ओसरपोसार भईरहेको स्थानीयको गुनासो प्रहरी समक्ष आएपछि प्रहरीले अवैध मदिरा नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेको असई ऐरीको भनाइ छ ।

स्थानीय सरकारले जनताकै भलाइका लागि लागू गरेको मदिरा कार्डको समेत बेवास्ता गरिएको पाईएका कारण उक्त कुराको पनि कार्यान्वयनमा जोड दिने गरी ईलाका प्रहरी कार्यालयको टिम खटिएको छ । 

ईलाका प्रहरी कार्यालय घट्मुनाले जताततै कमसल, अवैध र घरेलु मदिरा पछिल्लो समय व्यापक रुपमा नियन्त्रणमा लिन सुरुसंगै गाउँमा विभिन्न सामाग्री विक्रि वितरण गर्न आउनेलाई पनि गाउँपालिकाकाे सिमानामै सचेत गराउन थालिएको छ ।

सामाग्री विक्रि वितरणको नाममा कालोबजारी र लुटपाट हुने जोखिमलाई ध्यानमा राखि उनीहरुलाई सचेत गराउँन थालिएको प्रहरी सहायक निरीक्षक ऐरीले बताए । अवैधानिक कार्य गर्ने जोकोहीलाई पनि कानुनी कारबाही गर्न पछि नहट्ने बताउँदै गौमुल ईलाका प्रहरी कार्यालयमा बसुञ्जेल यहाँका नागरिकको शान्ति सुरक्षामा अहोरत्र खटिने उनको भनाइ छ ।

लुकीछिपी ल्याईने कमसल र अवैध घरेलु मदिराका कारण समाजमा विभिन्न अराजक गतिविधी बढेको भन्दै प्रहरी सक्रियता बढाएको र यसमा सबै जनप्रतिनिधीको सहयोग रहेको प्रहरीले जनाएको छ ।

गौमुल गाउँपालिकाको शान्ति सुरक्षा कायम गर्न निरन्तर खटिएर लाग्ने प्रहरी सहायक निरीक्षक (असई) ऐरीले बताएका छन् । कुनै होटल, पसल तथा गाउँमा अवैध मदिरा र कालाेबजारी भएको थाहा पाउने जोसुकैले प्रहरीलाई खबर गर्न पनि ईलाका प्रहरी कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस