शनिबार, १२ साउन २०८१

जनतालाई झुटो बोल्ने र ठग्ने आफ्नो राजनीतिक नैतिकता भित्र छैन् : हरि बहादुर रोकाया

रमित वि.क.
बाजुरा : गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले जनतालाई झुटो बोल्ने र ठग्ने आफ्नो राजनीतिक नैतिकता र संस्कार भित्र नरहेको बताएका छन् । रेडियो गौमुलको नियमित कार्यक्रम “गौमुल बहस”मा कुराकानी गर्दै उनले यस्तो बताएका हुन ।

आफुहरुलाई पुनः ५ वर्षका लागि जनताले दिएको जिम्मेवारी इमान र निष्ठाका साथ तीन वर्षभित्र नयाँ खालको नमूना कार्य गरेर देखाउने प्रण गरे  । पछिल्लो कार्यकालमा रफ्तारमा स्थानीय सरकार चलेन भन्ने प्रश्नको जवाफमा अध्यक्ष रोकायाले विकास निर्माण तथा पूर्वाधार निर्माणका कामहरु भएमा मात्र विकास भएको बुझिने गरेको बताए ।

अघिल्लो कार्यकालमा आवश्यकता अनुसार सबै वडामा सडक सञ्जाल जोड्ने, विद्यालय तथा स्वास्थ्य संस्थाहरु निर्माण गर्ने कामहरु सम्पन्न गरिसकेको बताए ।अघिल्लो कार्यकालमा सम्पन्न गर्न नसकिएका कतिपय विकास निर्माण तथा अन्य कार्यहरु नियमित जारी रहेको बताए । स्थानीय सरकारसंग पर्याप्त बजेट नहुने भएकै कारण आफुहरु प्रदेश तथा संघीय सरकारसंग र अन्य विभिन्न संघ संस्थाहरुसंग नियमित समन्वय र सम्पर्कमा हुने भएका कारण जिल्ला बाहिर ध्यान दिईरहेको उल्लेख गरे ।

बजेट अभाव हुने भएकै कारण नियमित हिड्डुल गर्नुपर्ने अवस्था सिर्जना भएकोले पनि कम विकास भएको महसुस जनतालाई हुनु स्वभाविक भएको औल्याए । पालिकामा लगानीकर्ता र स्रोतलाई भित्र्याउने गरी आफुहरु लागिरहेका कारण जनताहरुले निराश हुनुपर्ने स्थिति नरहेकोमा जोड दिएका छन् । 

आफ्नो जीवनकालमा आफु जुन अभाव र चेतनाबाट राजनीतिकमा लागेको थियो त्यो कुरा ताजै रहेका कारण आफुले नबिर्सेको बताउनुभएको छ । व्यक्तिगत जीवनलाई छोडेर सामाजिक जीवन र परिवर्तनका लागि लाग्नुपर्छ भनेर लागेको स्मरण गर्दै स्थानीय सरकारको प्रमुख हुदाँ वा नहुदाँ समेत समग्र जनताको जीवनमा परिवर्तन ल्याउने गरी लागिरहेको बताएका हुन् । 

पालिकाका १, २ र ३ नम्बर वडा कार्यालयका केन्द्रसम्म तत्काल सडकको पहुँचमा ल्याउने गरी बजेट विनियोजन गर्ने वचन दिनुभएको छ । पर्याप्त स्रोत नहुदाँ पनि अब आफुहरुको सोच मानवीय र आर्थिक विकासमा केन्द्रीत हुने बताएका छन् । अबको कार्य भनेको जनताहरु जागरुक, सचेत, युवाहरु दक्ष, सीपयुतm र स्वस्थ्य बनाउने योजनाका साथ अघि बढेको बताए । 

प्राकृतिक प्रकोपले हरेक पटक आफ्नो पालिकालाई दुःख दिने गरेका कारण कतिपय कामहरु प्रभावित हुने गरेको बताए ।  युवाहरुसंग सिर्जनशीलता, दक्षता हुनुपर्ने र आफु के कुरामा अब्बल छु भन्ने कुरा ध्यानमा राखेर जीवन परिवर्तनका लागि लाग्न सुझाव दिएका छन् । जनताका आवश्यकता पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताउदैं स्थानीय सरकार लागिरहेकाले सबै चिज एकैचोटी गर्न नसकिने कुरा ध्यानमा राख्न आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस