शनिबार, १२ साउन २०८१

सरोकारवाला भन्छन् - लैङ्गिक हिंसा रोक्नु सबैको सरोकार र जिम्मेवारी हो

बाजुरा : लैङ्गिक हिंसाका घटना न्यूनिकरण गर्न सबै पक्ष जिम्मेवार र सचेत हुनु पर्नेमा सरोकारवाला निकायका प्रतिनिधीले सुझाव दिएका छन् । कुनै एक व्यक्ति, संस्था र निकाय मात्रै लागेर नहुने भएकोले सबै पक्षले सरोकार राख्नु पर्ने र जिम्मेवार हुनु पर्ने सुझाव सरोकारवालाको छ ।

पीसविन, आइपास र भिएसोको सयुक्त सहकार्यमा मार्तडीमा आयोजित लैङ्गिक हिंसा न्यूनिकरणका लागि स्थानीय तह र सरोकारवाला निकायसँगको छलफल कार्यक्रमका सहभागिले सो कुरा बताएका हुन् । कार्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले हिंसा रोक्न सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

हिंसा कुनै घर वा परिवारमा भएपनि त्यो सबैको सरोकार र समस्याको विषय हुनु पर्छ, त्यसको रोकथाम र न्यूनिकरणमा पनि सबै निकायको भूमिका रहनु पर्ने नगर प्रमुख खड्काले सुझाव दिएका छन् । हिंसा परिवारको प्रगति, समाजको उन्नतीको बाधक भएकोले कुनै प्रकारको बाहनामा प्रश्रय दिन नहुने सुझाव नगर प्रमुख खड्काको छ ।

बडीमालिका नगरपालिका स्तरीय कार्यक्रममा उपप्रमुख नन्दा थापाले हिंसाको सिकार हुन बाध्य महिलालाई कानुनी सचेतना र जीवन निर्वाहका  लागि सिप दिन आवश्यक रहेको बताएकी छन् । महिलाहरुले आफ्ना लागि आफै कमाउन सक्ने भएमात्रै हिंसा रोकिने हुँदा उत्पादन र आम्दानीसँग महिलालाई जोड्ने कार्यक्रम ल्याउन सरकार तयार हुनु पर्ने बताएकी छन् ।

युएनएफीएका आत्मराम न्यौपानेले हिंसाको सवाल कुनै व्यक्ति र समाज विशेष नहुने भएकोले अज्ञानता र अशिक्षाको विषयलाई सबै तिरबाट माथि उठाउने र सबैलाई सचेत पार्ने तर्फ लाग्न आग्रह गरेका छन् । पीसविन नेपालका कोषाध्यक्ष पार्वती जोशीले स्थानीय पालिकाबाटै हिंसा रोकथामका लागि विशेष कार्यक्रम ल्याउन सुझाव दिएकी छन् ।

जोशीकै अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन पीसविनका विकास सहकाय खडकराज जैशीले गरेका हुन् । भने उदेश्य बारे जानकारी पीसविन कार्यक्रम प्रबन्धक धर्मबहादुर रोकायाले गरेका हुन् । बडीमालिका नगरपालिकाको सभा हलमा कार्यक्रम आयोजना गरिएको परियोजना संयोजक कृष्ण रावलले जानकारी दिएका छन् ।

कार्यक्रममा जोडी समूहका र किशोरी समूहका सदस्यहरुले पनि परियोजना सञ्चालन पछि आएको परिवर्तन बारे अनुभव सुनाएका थिए । लैङ्गिक हिंसामा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना दोस्रो चरण अन्र्तगत सञ्चालित कार्यक्रम बारे जानकारी गराइएको थियो । कार्यक्रम बाजुराका बुढीगंगा र बडीमालिका नगरपालिकामा सञ्चालन भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस