बिहिबार, १० फागुन २०८०

पारिवारिक बेवास्ताले बाटोमै बच्चा जन्माउँछन्, बाजुराका आमा

बाजुरा : सहज रुपमा गाडी गुड्ने र सबै गाउँ बस्ती पुग्ने सडक बाटो र सुविधायुक्त स्वास्थ्य संस्था र संरचनाको बाजुरामा अभाव नै छ । तर पनि काम चलाउ नै भएपनि गाउँमा बनेका स्वास्थ्य संस्था र पालिका स्तरबाटै राखिएका स्वास्थ्य कर्मीले सकेको सेवा दिइरहेका छन् । 

विडम्वना त्यही नाजुक अवस्थाका स्वास्थ्य संस्था र उपलब्ध अपुग श्रोत साधानको प्रयोग गर्नपनि अधिकांशले बेवास्ता नै गरिरहेका छन् । त्यही कुराको सिकार बनिन्, बुढीनन्दा नगरपालिका ४ कुरुकी पानसरा रोकाया । उनले मंसिर १९ गते बाटोमै सन्तान जन्माइन । 

उमेरले ३१ कटेकी रोकायाको यो तेस्रो सन्तान हो । उनले यस अघिका २ वटा सन्तान पनि बाटोमै जन्माएको परिवारको भनाई छ । घरमै पनि पाउन सकिन्छ भन्ने ढिपीकै कारण बाटो र जंगल गएको बेला बच्चा पाउने गरेको यर्थाथता हो । 

पानसराको घरबाट आधारभुत स्वास्थ्य केन्द्र पुग्न मात्रै आधा घण्टाको पैदल हिँड्न पर्छ । गाउँमा प्रसुती सेवा सुचारु भएको १७ महिना बित्यो । नियमित चार पटक जाँच पनि गरेकी छन् । स्वास्थ्य कर्मीले मंसिर २१ गतेको मिति समेत दिएका थिए । 

मिति भन्दा केही दिन अगाडि पनि हुन सक्ने भएकोले तयारीमा बस्न, घरयासी काम कम गर्न र समस्या पर्दा खबर गर्न स्वास्थ्य कर्मीले सचेत समेत पारिसकेको दाबी गर्छन् । १९ गते विहान ४ नबज्दै बेथा लागेकी रोकाया, विहानको १० बजेपछि बाटोमा बच्चा जन्माएकी हुन् । 

पानसरालाई व्यथा लाग्यो, कसैलाई भनिनन्, नभनेकै कारण श्रीमान विहानै काममा गए । छिमेकीले पनि जानकारी विना वास्ता गर्ने कुरै भएन् । प्रश्रव पीडा सहन नसकेपछि रोकाया कसैलाई थाह नदिई स्वास्थ्य संस्था तर्फ लागिन् । तर सुत्केरी ब्यथाले हिँड्न नसक्ने अवस्था आयो । 

उनी बाटोमै पल्टीन् र त्यही उनले बच्चा जन्माउनु पर्ने बाध्यता आइलाग्यो भन्छन्, सुत्केरी गराएकी अहेब धर्मा चदाराले बताईन् । स्वास्थ्य संस्था जानेबेला बाटोमा भेटेको र झोलामै केही साधान भएकोले त्यहाँ सुत्केरी गराएर स्वास्थ्य संस्था पुर्याएको धर्माको भनाई छ । 

श्रीमानलाई समेत जानकारी नदिनु, पूर्व तयारी नगर्नु, आधा घण्टाको दुरीमा पनि विहान ४ बजे ब्यथा लागेर १० बजेसम्म बाटोमै हुनु, त्यो स्वयम पानसराको कमजोरी देखिन्छ । चेकजाँच गर्न आउँदा दिएको सुझाव समेत मान्दैनन्, पैसाका लागि मात्रै संस्थागत सुतकेरी गराउने गरेको अहेब चदाराको भनाई छ ।

कुरुमा २०७९ को साउनमा पहिलो पटक प्रसुती सेवा सञ्चालन गरिएको बुढीनन्दा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमजंग शाहीले जानकारी दिए । त्यस अघि स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउनेको संख्या शुन्य थियो । सबैले घरमै गराउने र गाह्रो भएपछि मात्रै अन्यन्त्र लिनु पर्ने बाध्यताले बाटोमै हुने, ज्यान जाने सम्मको घटना हुन्थ्यो । यो अवधीमा २७ जनाले संस्थागत सुत्केरी गराएका छन् । 

नियमित स्वास्थ्य जाँच र संस्थागत सुत्केरी गराए वापतको रकमका लागि सेवा लिन स्वास्थ्य संस्थामा बाध्य भएर आएपनि स्वइच्छा र चाहना राखेर आउनेहरुको संख्या निकै कम रहेको वास्तविकता स्वास्थ्य कर्मीले सुनाउने गरेका छन् । हाल पानसरा र उनले जन्माएको बच्चा सकुशल छन् । उनले स्वास्थ्य कर्मीलाई फोन गरेको दाबी गरेपनि गलत नम्बर डायल भएको देखिन्छ । 

यो एउटा उदारण मात्रै हो । बयालगडा अस्पताल अछाम पुगेर, धनगढी जान सुझाव दिदाँ पनि घर फर्किएको र बाटोमै बच्चा जन्माएको वास्तविकता बाजुरासँग छ । जिद्दी, जबरजस्ती र अज्ञानता पहिलो समस्या भएपनि परिवारको पूर्व तयारी नहुने कुराले यस्ता घटनाहरु दोहोरिने गरेका छन् ।

कुरुमा पनि बर्षादको समय बाहेक कच्ची बाटो बनेको छ । त्यो नभए घोडाकोट बाहेक अरु सबै बस्तीलाई आधा घण्टाको दुरीमा सेवा लिन मिल्ने आधारभुत स्वास्थ्य केन्द्र सञ्चालनमा छ । तीन जना स्वास्थ्य कर्मी २४ घण्टा सेवाका लागि हाजिर छन् । तर गाउँमा नबुझेकालाई बुझाउन र बुझेकालाई महशुस गराउन नसकिएको अवस्था छ । 

४ वर्षको अवधीमा मात्रै बाजुराका १२ जना सुत्केरी आमाले ज्यान गुमाइसकेका छन् । दुई वर्षको अवधीमा एक दर्जन बढी आमाहरुले बाटोमै बच्चा जन्माएको अवस्था छ । केही महिना अघि मात्रै खप्तड छेडेदह गाउँपालिका १ की ३२ वर्षकी उज्जलीले सुनार बाटोमै छोरी जन्माईन । उनलाई बयालगडाले धनगढी रिफर गरेपनि घर फर्केपछि बाटोमै बच्चा पाएकी हुन् ।

गौमुल गाउँपालिका ३ माँझपाली बस्ने २१ वर्षीया भाँग्य चदारा, हिमाली गाउँपालिका २ नातिखोला बस्ने २३ वर्षीया पार्वती बुढा, सोही पालिका १ को बामु बस्ने नानी रोकायाले पनि बाटोमै बच्चा जन्माइन् । रोकायालाई सुत्केरी ब्यथा लागेपछि आफन्तले स्वास्थ्य संस्था लिएका थिए । घरबाट करिब अढाइ घण्टा टाढा स्वास्थ्य संस्था भएकोले बामु आधारभुत स्वास्थ्य सेवा केन्द्र नपुग्दै उनले बाटामै बच्चा जन्माईन् ।

स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी ३५ वर्षीया कार्तिका बिकले पनि बाटोमै बच्चा पाउनु पर्ने बाध्यता आयो । आफन्तले ढिलो गरि ब्यथा लागेको थाह पाए । पूर्व तयारी गरिएन् । र ब्यथा लागेको अवस्थामा स्वास्थ्य संस्था लिन खोज्दा साप्पाटाको ताहाडा खोला नजिकै बच्चा जन्माइन् । 

यी प्रतिनिधि मुलक पात्र मात्रै हुन् । यस्ता समस्या गाउँमा अझै छन् । स्वास्थ्य संस्था टाढा हुने, ब्यथा लागेको बेला आफन्त नभेटीने, आर्थिक नहुने जस्ता समस्या पनि देखिएका छन् । ती भन्दा बढी पूर्व तयारी नगर्ने, के हुने हो, भन्ने दम्भ राख्ने, परिवारले समेत वास्ता नगर्ने कारणले नै समस्या निम्त्याएको स्वास्थ्य कर्मीको दाबी छ ।

औषधी प्रर्याप्त नहोला, भनेको समयमा स्वास्थ्य कर्मी नहोलान्, तर पनि भएको र उपलब्ध हुने कुराको सेवाका लागि स्वास्थ्य संस्था पुग्ने कुरामा स्वयम व्यक्ति र परिवार सचेत र जिम्मेवार हुनु पर्ने सुझाव स्वास्थ्य स्वयम सेविकाको छ । 

बुढीनन्दामा सकेसम्म सतप्रतिशत संस्थागत सुत्केरी गराउने गरि सबैभन्दा बढी बजेट नै स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । पानसराको हकमा पनि स्वास्थ्य संस्था टाढा भएर, गाडी नपाए भन्दा पनि केही पारिवारीक समस्याले बाटोमै बच्चा पाउनु पर्ने अवस्था आएपछि यस्तै समस्या समाधानका लागि प्रतिवद्ध भएर लागि पर्ने बोहराको भनाई छ ।

अधिकांशले नियमित गर्भजाँच नै गर्दैनन्, गरेपनि स्वास्थ्य कर्मीको सल्लाह मान्दैनन्, त्यही समस्या हो, भन्नु हुन्छ, बुढीनन्दा नगरपालिका स्वास्थ्य शाखा संयोजक ओमजंग शाही । बाजुराका हिमाली, बुढीनन्दा, स्वामिकात्र्तिक, गौमुल लगायतका भौगोलिक विकटता भएका पालिकामा बढी देखिए पनि समस्या अन्य पालिकाको पनि एउटै देखिन्छ । समस्या स्वास्थ्य संस्था र सरकारी पक्षमा मात्रै छैन्, स्थानीय र स्वयम परिवारमा पनि समस्या देखिन्छ । 

प्रतिक्रिया दिनुहोस