शनिबार, १२ साउन २०८१

काँग्रेस तत्काल गठबन्धन सरकारको विकल्प खोज्ने पक्षमा छैन् : शर्मा

बाजुरा : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तत्काल सरकारको विकल्प नखोज्ने बताएका छन् । नेपाल प्रेस युनियन बाजुराले आयोजना गरेको पत्रकार भेटघाटमा शर्माले बिशेष परिस्थितिबाट बनेको गठबन्धन सरकारको विकल्प खोजिहाल्ने अवस्था आइनसकेको बताएका हुन् । 

सरकार ढाल्ने र फाल्ने, वा कस्को र किन बनाउने विषयमा काँग्रेस भित्र कुनै बहस र छलफल भएको छैन्, महासमिति बैठक र नीति अधिवेशनको सुझाव पछि मात्रै के गर्ने भन्ने बारे सोच्न सकिने शर्माले भन्नु भयो । सरकारका सबै राम्रा काम छैनन्, केही सच्याउनु पर्ने र सुधार गर्नु पर्ने पनि छ, त्यो विषयमा सुझाव दिँदा र सच्याउने कुराको आलोचना गर्ने विषयलाई विरोध मान्न नहुने शर्माको दाबी छ ।

भुकम्प पीडितको उद्दार, राहत वितरण र टहरा निर्माणका लागि लाग्ने खर्च दिने कुराको निर्णयमा सरकार जिम्मेवार बनेपनि टहरा निर्माणको काममा गम्भीर कमजोरी भइरहेको शर्माको भनाई छ । काँग्रेस पनि सरकारमा छ, भन्दैमा सबै कमजोरी स्वीकार्न र पक्षपोषण गर्न सकिन्न, कुन कुरामा समर्थन र आलोचना गर्ने काँग्रेस त्यसमा प्रष्ट छ, शर्माले भन्नु भयो ।

यो काम गर्ने बेला हो, पाएको जनमत र अधिकारको तीन वटै तहका सरकारले जिम्मेवार ढंगले काम देखाउनु पर्छ, सरकार कस्को भन्ने नै छैन्, कुनै दल सरकार बाहिर छैन्, कोही स्थानीय तहको नेतृत्व गरिरहेका छन्, त कोही संघ र प्रदेशको जनताको काम र देशको स्वाभिमानको चिन्ता र सरोकार सबैलाई हुनु पर्नेमा शर्माको जोड छ ।

समृद्धिका लागि संकल्प यात्रामा रहेको नेकपा एमालेलाई लक्षित गर्दै शर्माले मिसन ८४ नभइ ८०, ८१, ८२ र ८३ हुनु पर्ने र मिसन भन्दा भिजनको कुरालाई प्राथमिकता दिनु पर्ने धारणा राखेका छन् । पाँच वर्ष केही नगर्ने, र ५ वर्ष पछि एकै पटक चमत्कार गर्छु भन्ने कुरा नै गलत हो, शर्माले भन्नु भयो ।

प्रतिनिधी सभा सदस्य समेत रहेका शर्माले सांसद भएपछि सरकारमा जान हतार गर्ने पक्षमा आफू नरहेको र कुनै दिन मन्त्री र प्रधानमन्त्री बन्ने उदेश्य बोकेकोले यो कार्यकाल सदन भित्रको संसदीय अभ्यासलाई सिकाइको रुपमा प्रयोग गर्ने बताए । शर्मा बाजुरा पहिलो पटक आएका हुन् ।

रिगल रिहाइको प्रंसगमा कुरा गर्दै शर्माले आममाफी दिने निर्णय नै गलत थियो । मैले त्यो बेला नै विरोध गरेको हो, न्याय सम्पादन पीडित परिवारको सिफारिसमा गरिनु पर्ने पद्धतीको विकास गर्नु पर्ने धारणा राखेका छन् । नेपाली काँग्रेस बाजुराले आयोजना गरेको जिल्ला आम भेलालाई संवोधन गर्न शर्मा बाजुरा आइपुगेका हुन् । 

शर्माले दुर्गा प्रसाईको प्रदर्शन लोकतन्त्रमा स्वभाविक रुपमा लिनु पर्ने बताएका छन् । लोकतन्त्रको विरोध गर्ने व्यवस्था नै लोकतान्त्रिक व्यवस्था हो । राजतन्त्र भए पो, विरोध र बहस गर्न बन्देज हुन्थ्यो, असन्तुष्टी पोखिनु कुनै नौलो र आश्चर्यको कुरा होइन्, यस्ता व्यवस्था विरोध प्रदर्शनको कुनै अर्थ छैन्, भन्ने लागेर नै काँग्रेसले महत्व दिएन्, शर्माले थप्नु भयो ।

शान्ति प्रक्रियाका लागि सहकार्य गरेका दलबीच समृद्धिका लागि सहकार्य हुनु अनौठो नभइ स्वभाविक भएकोले सत्ता गठबन्धन बारेको बुझाइप्रति आम नागरिक जानकार हुनु पर्ने बताए । उनले संसद विघटनको बिशेष पस्थितिमा चुनावी गठबन्धन गरिएपनि अब त्यो कुरालाई सच्याएर जान सकिने धारणा राखे ।

देशको अर्थतन्त्र सुधारमा सरकारले ध्यान दिनु पर्छ, विदेश पलायनमा सबैको चिन्ता र सरोकार रहनु पर्छ, राजनीतिले अब विकास र समृद्धिका विषयलाई समेट्नु पर्ने धारणा राख्दै शर्माले प्रचण्डले भाग्यशाली छु, सरकार अझै टिक्छ भन्ने कुरा काँग्रेसको आस्था र विचारलाई आत्मसाथ गर्नु राम्रो कुरा भएको बताए । 

उनले विपी र गणेशको पथलाई काँग्रेसले छोडेको आरोप सत्य नभएको भन्दै अवस्था परिवर्तन र व्यवस्था परिमार्जन गर्ने पक्षमा काँग्रेस लागेको दाबी गरेका छन् । नेपाल प्रेस युनियनका अध्यक्ष संगीता तिमिल्सेनाको अध्यक्षतामा आयोजित पत्रकार भेटघाट काँग्रेस पार्टी कार्यालयमा आयोजना गरिएको हो ।

कार्यक्रममा काँग्रेस सभापति रामसिंह रावल, पूर्व सभापति कविराज पण्डित, मनबहादुर रावल, प्रदेश सभा सदस्य एवं काँग्रेस नेतृ जुना दानी, पार्टी उपसभापति, सचिव, सहसचिव सहीतका नेताहरु सहभागि थिए । काँग्रेसले आजै बाजुरा सदरमुकाम मार्तडीमा बिशाल आम भेला आयोजना गरेको छ । 

प्रतिक्रिया दिनुहोस