शनिबार, १२ साउन २०८१

क्यानडामा ‘को–हजबेण्ड’लाई उत्कृष्ट अवार्ड

क्यानडा : नेपालको बहुपति प्रथाको विषयमा निर्माण भएको वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान्) ले क्यानडामा उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ। क्यानडाको टोरोन्टोमा आयोजित सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिभलमा को–हजबेण्डले शनिबार उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको हो।

मेन्ट्रो टोरोन्टो सम्मेलन केन्द्रमा आयोजित अवार्ड समारोहमा फिल्म फेस्टिबलका सहनिर्देशकद्वय युनिभर्सिटी अफ साउर्दन क्यालिफोर्नियाकी एसासियट प्रोफेसर जेनिफर कुल र युनिभर्सिटी अफ कोलारोड बोउल्डरका एसासिएट प्रोफेसर क्रिश्चियन ह्यामन्सले को–हजबेण्डका निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेलाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो। 

अवार्ड समारोहमा प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष विश्वम्भर घिमिरे पनि सहभागी हुनुभएको थियो। अमेरिकन एन्थ्रोपोलिजिकल एसाेसियन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीले ३६ वर्षदेखि हरेक वर्ष अन्तर्राष्ट्रिय सम्मेलनसँगै फिल्म र मिडिया महोत्सव गर्दै आएको छ। 

महोत्सवमा संसारभरिबाट मानवशास्त्र र समाजशास्त्रसँग सम्बन्धित हजारौँ चलचित्र तथा वृत्तचित्रको  प्रतिस्पर्धामा उत्कृष्ट ठहर गरी नेपालको विशिष्ट परिवेशमा बनेको जीवन्त वृत्तचित्र को–हजबेण्डलाई उत्कृष्ट अवार्ड घोषणा गरिएको थियो। 

निर्देशक पाण्डेको को–हजबेन्डले यसअघि पनि विश्वका प्रतिष्ठित चलचित्र महोत्सवमा अवार्डहरू जितिसकेको छ। बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको हो। 

घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि हुम्लालगायतका हिमाली जिल्लामा छ। सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतार्नुभएको हो। 

निर्देशक पाण्डेले करिब ४ वर्षको छायाङ्कन र रिसर्चबाट सहायक श्रीमान् निर्माण गर्नुभएको हो। साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गर्नुभएको हो। प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल हुनुहुन्छ। यसैगरी, चन्द्रमान डङ्गोल, अविनाश लामाले यो डकुमेन्ट्रीलाई क्यामेरामा कैद गर्नुभएको हो। सङ्गीत संयोजन सङ्गीतकार जुगल डङ्गोलले गर्नुभएको छ।

यसअघि पनि निर्देशक पाण्डेको ‘भाग्यले बाँचेकाहरू’ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो।  

प्रतिक्रिया दिनुहोस