शुक्रबार, ०४ असोज २०८१

परम्पराको नाममा यातना दिई पशुबली दिएकोप्रति बाजुरा जिससको ध्यानाकर्षण

बाजुरा : जिल्ला समन्वय समिति बाजुराले परम्पराको नाममा पशुलाई यातना दिएर बली चढाउने संस्कारलाई बदल्नुपर्ने बताएको छ । हाल सामाजिक सञ्जालमा दशैं मेलामा परम्पराका नाममा पशुलाई धपाई निर्मम बली दिएको विषयले समग्र बाजुराको पहिचान र प्रतिष्ठामाथि आँच आएको भन्दै जिल्लमा यो परम्परा रुपान्तरण गर्नुपर्ने बताएको हो ।

जिल्ला समन्वय समितिको पशुलाई यातना सहीत निमर्मत रुपमा बली दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ । बली परम्पराको नाममा निर्दोष पशुलाई यातना दिई हत्या गरिनु संसारकै श्रेष्ठ प्राणी मानवको लागि शोभनीय नभएको जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले बताएका छन् । 

सबैको बाच्ने अधिकार सभ्यता र संस्कारसंग पनि जोडिएको छ । तर परम्पराको नाममा पशुलाई लखेटी, लखेटी हत्या गर्ने हालको मानवीय प्रवृत्तिलाई रुपान्त्रण गर्न सम्बन्धीत स्थानीय तहबाटै लाग्न आवश्यक रहेको रोकायाले बताए । यस्तो परम्परा तथा संस्कारलाई आधुनिकतामा लैजान सबैले आवश्यक पहल कदमी गर्न ध्यानाकर्षण पत्रमा अनुरोध पनि गरिएको छ ।   

यस सन्दर्भमा मुलुकी अपराध सहिंता २०७४ को दफा २९० मा पशुपंक्षीप्रति निर्दनीय व्यवहार गर्न नहुने, दफा २९१ मा सार्वजनिक स्थलमा पुशपंक्षीलाई मार्न नहुने र उक्त कसुर गर्ने गराउनेलाई तीन महिना सम्म कैद, पाँच हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुने कानूनी व्यवस्था रहेको छ । 
पशु स्वतन्त्रता, पशु अधिकार कल्याणको सुनिश्तिता सहीत कानुनको पालना र मानवीय भावना निर्वाह गर्न सबैको नैतिक दायित्व रहेकाले सामाज रुपान्तरण गर्न जिम्मेवार बन्नुपर्ने बताईएको छ ।

परम्पराको नाममा पशुको निर्मम हत्या गर्ने अमानवीय प्रवृत्तिलाई निरुत्साहित गर्दै बली दिनैपर्ने भएमा निश्चित निर्धारित ठाउँमा विधी बमोजिम गरी पशु संरक्षण गर्न बाजुरा जिल्लाका ९ वटै स्थानीय तहहरुलाई आवश्यक पहल कदमी गर्न ध्यानाकर्षण पत्र मार्फत अनुरोध गरिएको छ ।

परम्परादेखि बली दिदैं आएका धार्मिक स्थलमा समेत मानवीय मर्यादा र पशु अधिकारलाई मध्येनजर गर्दै समाजमा जनचेतना अभिवृद्धिका कार्यक्रमहरु समेत सञ्चालन गर्न आग्रह गरिएको छ । 

प्रतिक्रिया दिनुहोस