बाजुरा : मार्तडी स्थित बडीमालिका मन्दिरमा चोरी भएको छ । मन्दिरको मुल ढोका तोडफोड गरि दान पेटीका समेत चोरी गरिएको मन्दिर व्यवस्थान समिति सचिव लालबहादुर विकले बताएका छन् । दान पेटीका कार्तिक ३ गते रातीको समयमा चोरी भएको समितिले जानकारी दिएको छ ।
भक्तजनहरुले दान गर्ने पेटीका नै लगेर गएको र मुल ढोकामा तोडफोड गरिएको छ । पैसा राखिएको हुन सक्ने आशंकाले मुल ढोका तोडफोड गरेर पुजा कोठामा समेत खोजतलासी गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
मुल ढोका भित्रै रहेको दान पेटीका भने सिंगो उठाएर लिएको समितिले बताएको छ । मुल ढोकामा तोडफोड भएको छ । पुजा कोठा र भगवतीको मुर्ति राखिएको कक्षमा समेत पैसा हुन सक्ने अनुमानले खोज गरिएको अवस्था देखिएको व्यवस्थापन समिति सचिव लालबहादुर विकले बताएका छन् । सोही कक्षमा पुजामा चढाइएको ६ सय ५० रुपैया पनि लिएको मन्दिरका पुजारीले बताएका छन् ।
दशैं लक्षित खर्च व्यवस्थापनको नियत राखेर युवाहरुको समूहले चोरी गरेको हुन सक्ने बताइएको छ । मन्दिर व्यवस्थापन समितिले प्रहरी मुचुल्का सहीत उजुरी दिएको छ । मालिका मन्दिरमा स्थानीयले बडीमालिकाकै जत्तीको महिमा र महत्व सहीत पुजा गर्ने गरेका छन् ।
आस्थाको धरोहर मन्दिरमै चोरी हुन दुखत विषय भएपनि सुरक्षा कमजोरीकै कारण चोरीका घटना बढेको आरोप स्थानीयको छ । तीन दिन अघि मात्रै मार्तडी बजारमै पशुपति सुनचाँदी पसलमा चोरी भएको छ ।
बजारमा चोरीका घटना बढीरहेका छन् । प्रहरीको सुरक्षा व्यवस्थापन नै कमजोर भएको आरोप बजार बासीको छ । चाड पर्व केन्द्रीत घर व्यापारी होटल पसल बन्द गरेर घर जाने तयारी गरिरहँदा उनीहरुलाई चोरी हुने त्रास बढेको छ । तर प्रहरीले भने सुरक्षा व्यवस्थापन कडा पारिएको दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस