शुक्रबार, ०४ असोज २०८१

एमाले गण्डकी प्रदेशको अध्यक्षमा शर्मा विजयी

गण्डकी, । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । गए राति सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षका अर्का प्रतिस्पर्धी मायानाथ अधिकारीलाई एक सय ६६ मतान्तरले हराउँदै उनी विजयी भएका हुन् ।

शर्माले पाँच सय ३१ मत ल्याउँदा अधिकारीले तीन सय ६५ प्राप्त गरेका छन् । म्याग्दीका शर्मा यसअघिको प्रदेश कमिटीमा पनि अध्यक्षको भूमिकामा थिए ।

यस्तै पाँच सय ३४ मतसहित उपाध्यक्षमा मीनप्रसाद गुरुङ विजयी हुनुभयो भने उपाध्यक्षका अर्का उम्मेदवार बाबुराम सुनारले तीन सय ७२ मत प्राप्त गरे । सचिवमा धनञ्जय दवाडीले पाँच सय २० ल्याएर विजयी हुँदा उनले प्रतिस्पर्धी रश्मी आचार्यले तीन सय ६७ मत पाएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिए ।

उपसचिवमा चार सय ९९ मतसहित दामबहादुर विक विजयी हुँदा उनका प्रतिस्पर्धी सन्तोष रावलले तीन सय ९७ मत प्राप्त गरेका थिए । उपसचिव महिलातर्फ पाँच सय ३१ मत ल्याएर मञ्जु गुरुङ विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी मीना गुरुङले तीन सय ६५ मत प्राप्त गरे ।

बिहीबार भएको मतदानमा कुल नौ सय सात प्रतिनिधिमध्ये आठ सय ९६ जनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत थापामगरले बताए । अधिवेशनबाट पाँच पदाधिकारीसहित विभिन्न ‘कलस्टर’बाट एक सय ६५ उम्मेदवार निर्वाचित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस