बुधबार, १६ जेठ २०८१

एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन र अबको बाटो..

भेष राज बुढाथोकी
 
नेकपा एमाले समानुपातिक मतमा देशको पहिलो शक्ति, निर्वाचित सांसद सिटका आधारमा दोश्रो हुँदाहुँदै पनि यतिखेर सबै प्रदेश र केन्द्रीय सरकारबाट रिङ्गआउट भएको  (कोशी प्रदेशमा सरकार छ ,केही राजनीतिक उथलपुथल नभए त्यता एमालेका मुख्यमन्त्रीले विश्वासको मत पाउने कुनै जीवित सम्भावना छैन )  नमीठो तीतो यथार्थ हामी माझ विराजमान छ । यो नेकपा एमालेका इमानदार सिपाहीका लागि असह्य खबर हो । अहिले देखि नै 2084 सालको आम निर्वाचनलाई लक्षित गरी एमाले 'मिसन 84' अभियान लिएर जनताको घरदैलोसम्म एमाले पुगेको छ । म चाहन्छु-  अहिले जनताको घरदैलो हुँदै नेकपा एमाले 84 सालमा सिंहदरबारमा पुगोस् तर कसैको बैसाखी नेटकी ।
एमाले यतिखेर प्रदेश अधिवेशनको चटारोमा छ । लुम्बिनी प्रदेशमा उसले आफ्नो अधिवेशन सम्पन्न गरीसकेको छ । बागमती र कर्णाली प्रदेशको अधिवेशन अन्तिम चरणमा छ । बाँकी प्रदेशको अधिवेशन सम्मुखमै छ । यो आलेख 'एमालेको अबको बाटो , प्रदेश अधिवेशन र यसका एजेण्डा' भन्ने विषयमा केन्द्रित रहने छ ।
 
वैचारिक उत्कृष्टता...
 
भन्नेहरूले जेसुकै भने पनि नेकपा एमाले आजका दिन सम्म 'जनताको बहुदलीय जनवाद' हिँडेकै बाटो हिँडीरहेको छ  । जननेता मदन भण्डारीको अगुवाईमा नेकपा एमालेमा कम्युनिष्ट आन्दोलनभित्रका समस्या र समाधानका सूत्र खोज्ने प्रयत्न जसरी भएको थियो । त्यो साँच्चै विरासदपूर्ण ईतिहास थियो र रहनेशछ । साँच्चै भन्ने हो भने यस पटक वा  दशौं महाधिवेशन पश्चात नेकपा एमाले अरू पार्टीको तुलनामा  आफ्नो विचार र सिद्धान्तमा  सर्वोत्कृष्ट छ । एमालेमा यस भन्दा अगाडि यो लेभलको वैचारिक स्पष्टता , वैचारिक उत्कृष्टता थिएन । बरू वैचारिक मत भिन्नता टन्न थियो । जसको परिणाम हाम्रो सामु छँदै छ । एमालेका नेता कार्यकर्ता हिँड्ने बाटो भनेको 'जनताको बहुदलीय जनवाद' भन्ने चोक हुँदै , 'समाजवाद' को पुल तर्दै , अन्तिम स्टेसन संविधानले भनिदिएको 'साम्यवाद' सम्म नै हो ।
 
आज देशका अन्य पार्टीले अङ्गीकार गरेका , अन्य पार्टीले अंगालेका , अन्य पार्टीले बोकेका जडसूत्रवाद , उग्रवाद , विसर्जनवाद , दक्षिणपन्थवादको विरोध गर्दै मार्क्सवादलाई सिर्जनात्मक रूपमा प्रयोग र विकास गर्ने निष्कर्षमा नेकपा एमाले पुगेको आज हैन । निकै भयो । नेपाली कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रीकरण गरी मार्क्सवादको सिर्जनात्मक विकास गर्ने 'नेकपा एमाले' नै पहिलो कम्युनिष्ट  पार्टी हो ।  नेपाली क्रान्तिका कार्यभारलाई नयाँ ढङ्गले सूत्रीकरण गर्ने काम एमालेले गर्दै आएको छ । आफ्नो धरातलीय वैचारिक स्पष्टता संगै एमालेले 'जनक्रान्ति'को सम्मान गर्दै टोल , समाज र देशबाट 'सामन्तवाद' मात्रै हैन , सामन्तवादका अवशेष पनि लेखेट्नु पर्छ । तब मात्रै साम्यवादको ढोका खुल्न सक्छ । एमालेको विचार , सिद्धान्त बारे हामी यो भन्दा थप  बहस नगरौँ । किनकी यो काम एमालेले आफ्नो दशौं महाधिवेशनबाट 'विधान अधिवेशन' नामक छुट्टै महासंग्राम मार्फत अरू पार्टी भन्दा आफू अग्रगामी रहेको कुरा पुष्टि गरीसकेको छ । पुष्टि गरेको कुरा मान्नु शिवाय हामी संग अर्को विकल्प छैन ।
 
आजको एमाले...
 
एमाले यस बीचमा विभिन्न उतारचढावसंग हिँड्दै,  लड्दै , उठ्दै , फेरि हिँड्दै अगाडि बढीरहेको छ । यी शृङ्खलावद्ध उतारचढावबाट, यी सिकेका लेसनहरूबाट , विगतका तितामीठा अनुभवबाट , भोगाई र सिकाईबाट 'अबको एमाले कस्तो बनाउने ?' भन्ने प्रश्न हाम्रो सामु जबर्जस्त उभिएको छ । आज नेकपा एमाले कहाँ छ ? भन्ने प्रश्नको 'भित्तेघडी'बाट  यतिबेला नेकपा एमालेमा आबद्ध सबै नेता, कार्यकर्ता, यसका इमानदार सिपाहीले एमालेका समस्याको मसिनो गरी पहिचान गर्न जरुरी छ । त्यसबाट नै समस्याको समाधान निस्कन्छ ।
 
निश्चित रूपमा एमालेमा यस बेला हिजोको भन्दा पार्टी सदस्यता बढेको छ । दिनहुँ  पार्टीको जनसङ्ख्या बढेको छ । बर्षै पिच्छे  भातृ संगठन बढेका छन् । नेताहरू बढेका छन् । कार्यकर्ता बढेका छन् । यो खुसीको कुरा हो । तर यस संगसंगै अर्को पाटोबाट हेर्दा कार्यकर्ता अवसरवादी भएका छन् । नेता सत्तामुखी भएका छन् । नेता पारिवारवादी भएका छन् । पार्टी भित्र इमानदारलाई पाखा लगाउने गरी डनवाद , धनवाद , अवसरवाद,  परिवारवाद , आफन्तवाद , नातावाद , कृपावाद, जस्ता 'जडसूत्र'वादको बिउ हुर्केको पनि यथार्थ नै हो । हो ठ्याक्कै यही सवालको जगमा उभिएर अबको एमालेको 'विशाल घर' तयार पार्नु नेता , कार्यकर्ता, तपाईँ हामी सबैको दायित्व हो । दायित्व संगै चुनौतीका हस्तरेखा पनि देखा परेका छन्। समय संगै यस्ता हस्तरेखा मेटिदै जानेछन् ।
 
प्रदेश अधिवेशन चलिरहँदा विभिन्न प्रदेशमा प्रतिनिधि छनौट देखि नेतृत्वको निर्वाचनसम्म ठाडो प्यानलबाजी देखियो भन्ने आम  कार्यकर्ताको गुनासो छ ।  यस्ता घृणित कामले  नेता कार्यकर्ता दुई पक्षमा विभाजित हुन्छन् । उनीहरुको मन 'दुध फाटे' जस्तै फाट्छ  । समग्र  पार्टी यसको विचारमा , सिद्धान्तमा,  संगठनमा , उद्देश्यमा , नीति निर्माणमा 'एक कोषिय' हुनुपर्नेमा 'बहु कोषिय' भैजान्छ । एमालेले अब अरू प्रदेशको अधिवेशनबाट ती धाँजा सम्याउनैपर्छ । ती गल्ति मेटाउनै पर्छ । यी समस्या हल गर्नैपर्छ । सुदूरपश्चिम प्रदेश मेरो गृह प्रदेश पनि हो । यहाँ ती समस्या नहोउन् भन्ने कुरा म चाहन्छु । नयाँ नेतृत्वका सामु यो अर्को महत्त्वपूर्ण चुनौती छ। विजयी र उपविजेता दुबैले एमालेलाई थप बलियो , थप संगठीत , थप सुदृढ पार्नका लागि एमालेका , देशका , समाजका , टोलका हरेक समस्यामा अंगालो हाल्नु , हात मिलाउनु , घाँटी जोड्नु जरूरी देखिन्छ ।  आमरूपमा हेर्दा यतिबेला नयाँ पुस्ताका नेताहरु पार्टी नेतृत्वमा पुग्न सफल भएका देखिन्छन् । यसर्थ यी प्रदेश अधिवेशनबाट यसपटक नेतृत्व हस्तान्तरणको नयाँ प्रक्रिया प्रारम्भ हुने म देख्छु । अब एघारौँ  महाधिवेशनमा पार्टीको , प्रमुख नेतृत्वमा समेत नयाँ पुस्ता वा दोस्रो पुस्ताका नेता पुग्ने सम्भावनाको बाटो खुलेको छ । यो जरूरी पनि छ । 
 
एघारौँ महाधिवेशनबाट पार्टीमा पुस्तान्तरणको समेत ढोका खुल्नेछ , यो खुल्नुपर्छ। अब एमालेले कुनै पनि प्रदेश अधिवेशनमा प्यानल खुल्नेगरी मतपत्र तयार पार्नु हुँदैन । प्यानल बनाउन दिनु हुँदैन । प्यानलबाट निर्वाचन लड्न दिनु हुँदैन । यसरी बनाएका वा बनाइएका प्यानलबाट पार्टीमा गुटबन्दी , समुहबन्दी बढेर जान्छ । कालान्तरमा यस किसिमका कर्तुतले पार्टीमा विभाजन ल्याउने खतरा बढ्छ । त्यसैले यस्ता कामहरू संगठनका निम्ति,  पार्टीका निम्ति शुभ समाचार होइनन् । यसले संगठनमा मलजल होइन बरू संगठनमा 'खडेरी' पार्छ । त्यसैले यस प्रकारका कमजोर गतिविधि पार्टीको ग्रासरूटमा वा भनौँ  तल गाउँ टोल सम्म पुग्न दिनु हुँदैन । नेकपा  एमालेको भरोसा भनेकै ‘क्रिम फोर्स'का रूपमा रहेका यसका कार्यकर्ता हुन् । नेताहरूले बाटो बिराएर पनि पार्टीलाई ठिक ढंगले ठिक ठाउँमा 'सेफ ल्याण्डिङ' गरेर पार्टी बचाएकै आम कार्यकर्ताले हो । यसर्थ नेकपा एमालेका कार्यकर्ता एमालेका वर्तमान र भविष्य दुबै हुन् भन्ने कुरामा नजरअन्दाज गर्नु हुँदैन । गर्न मिल्दैन ।
 
फुत्केको माछो ठूलो....
 
सत्तारूढ गठबन्धन भत्काएर , प्रचण्डलाई प्रधानमन्त्री बनाएर , देशको राष्ट्रपति ,सदनको सभामुख आफूले लिने गरी 'नयाँ नक्सा' एमालेले कोरेकै हो । सात प्रदेशमा कम्युनिष्टको सरकार बनेकै हो , बनाएकै हो । यसमा पार्टी नेतृत्वको सुझबुझपूर्ण विचार , कुशल निर्णय साँच्चै प्रशंसा योग्य थियो । तर प्रचण्ड प्रधानमन्त्री भएको दुई महिना नपुग्दै , प्रचण्ड आफ्नो पूर्व सहमतिबाट 360⁰ यु-टर्न भए । यस्तो हुनुमा  प्रचण्डको गल्ति त पक्कै छ । संगै 'गरीएको भद्र सहमति'बाट प्रचण्ड त्यसरी ब्याक हुनुमा एमालेको नेतृत्व , एमालेका नेताको कहीं न कहीं कमजोरी पनि पक्कै छ । गाउँमा पटक पटक लात्ती हान्ने गाई कहाँ गहुँत ल्याउन दोहोरिएर कोही जाँदैनन् । पटक पटक राजनीतिक धोका दिने , पटक पटक राजनीतिक बेइमानी गर्ने , पटक पटक मौसम अनुसार आफ्नो विचारको , सत्ताको र सरकारको रङ्ग फेर्ने 'अस्थायी विचार विनाको ढुङ्गो' लाई एमालेले फेरि पटक पटक किन अंगालो हालिरहने ?
 
बिगतमा बाटो बिराइयो । त्यत्रो दुई तिहाईको कम्युनिष्ट सरकार र पार्टी सिसाको टुक्रा जस्तो फुट्यो । अब त्यसबाट पाठ सिकेर , फेरि सात प्रदेशको सरकार र केन्द्रीय सरकार कम्युनिष्ट नेतृत्वको होला । निराशावादी जनता एक हद सम्म आशावादी होलान् । मुर्छिएका सपनामा पानी छर्किएला । सूतेका विकासका कामहरू उठ्लान् भन्ने जुन जन अपेक्षा थियो । यसमा  पानी मात्रै हैन , हिउँ पर्यो । यो समग्र  कम्युनिष्ट पार्टी , एमाले, देश र जनताको लागि राम्रो कुरा थिएन । त्यसैले प्रचण्डले धोका दिए भन्दा पनि प्रचण्डलाई धोका दिन वाध्य कसले पार्यो भन्ने मुख्य प्रश्न हो । आज एमाले सबै तहका सरकारबाट बाहिरिँदा उसलाई 'फुत्केको माछो ठूलो' भएको छ । यस किसिमका कमजोरीहरू आगामी दिनमा कार्यकर्ता , नेता र नेतृत्वले करेक्सन गरेर लैजानु नै बढी बुद्धिमत्तापूर्ण हुन्छ
 
आगामी दिशा....
प्रदेशका नवनिर्वाचित अध्यक्षले र पदाधिकारी समूहले आगामी दिनमा एमालेलाई कसरी डोर्याउँछन् ? यो आजको मुख्य प्रश्न हो । अधिवेशनको धङधङी सबैले त्याग्ने, नेतृत्वले सबैलाई समेटेर अघि बढ्ने, पार्टीलाई एकताबद्ध बनाउने कुरा नेताहरूको कुरामा मात्रै सिमित नहोस् । एमालेका प्रदेश अध्यक्षहरूको परीक्षा यहीँबाट सुरू हुनेछ । निर्वाचित नेतृत्वको शितलतामा एमालेको नेता , आम कार्यकर्ता ‘जस्टिस' पाएको अनुभूति गर्छन् कि गर्दैनन् ? भन्ने प्रश्नको उत्तरका लागि सब कुरीरहेका छन् । हरेक पार्टीमा यतिबेलाको रोग भनेको गुटबन्दी , समूहवाद नै हो । पार्टी फुट्न पनि नसक्ने, एक ढिक्का पनि हुन नसक्ने रोग आजको एमालेमा भन्दा कांग्रेस र माओवादीमा त्यो समस्या बढी नै छ । यो नेपाली राजनीतिको आम प्रवृत्ति बनिसकेको छ । फेरि एमाले त्यही रोगबाट ग्रसित नहोस् । त्यो रोगको भ्याक्सिन भनेकै 'एकता र सहकार्य' हो ।
 
साँच्ची एमालेलाई थप बलियो , थप एकताबद्ध , थप संगठीत , थप मजबुद , थप सुदृढ बनाउने हो भने सबैले 'इगो र भ्रम' त्यागेर फराकिलो ढङ्गले जान जरुरी छ । त्यसरी जान नसक्दा एमालेको भविष्यमा कालो बादल मडारिने होकी भन्ने चिन्ता एमालेका कार्यकर्ताका थाप्लोमा छँदैछ । अब प्रदेश कमिटीका हरेक बैठक पारदर्शी हुन जरूरी छ  । यस भित्रका पदीय मनोनयन र नेताहरूको कार्यविभाजन , नातावाद,  कृपावाद,  धनवाद , डनवाद , आफन्तवादका आधारमा हुनुहुँदैन ।  योग्य , सक्षम,  जो संग कुशल कार्यक्षमता छ , जसले आफूले पाएको जिम्मेवारी कुशलता पुर्वक निर्वाह गरेको बिगत छ , त्यस्ता नेताहरूलाई तदनुसारको जिम्मेवारी दिएर तदनुसारको कार्यविभाजन गरिनु पर्छ । बरू यसका लागि निश्चित मापदण्ड बनाएर जान सकिन्छ । त्यस्तो मापदण्ड बनाउनु पर्छ कि जुन मापदण्डका आधारमा गरिने निर्णयको ‘अनरसिप' सबैले लिने अवस्था आओस्  । 
 
साँच्चै यो प्रदेश अधिवेशनले पार्टीलाई एकताबद्ध राख्न बुद्धिमत्तापूर्ण कदम चाल्नु नै भोलिका लागि प्रगतिको 'आधारशीला' हुनेछ। यहीँ नेरबाट एमालेको आगामी सरकार , आगामी भविष्यको यात्रा तय हुनेछ। विवाद, तनाव, पक्ष , विपक्षका साथ जाने कि एकता, हार्दिकता र सहकार्यका साथ अघि बढ्ने भन्ने कुरा नेतृत्वको गोजीमा छ । त्यसर्थ नव निर्वाचित प्रदेश नेतृत्वले सुझबुझपूर्ण निर्णय गरी , एमालेलाई संगठीत बनाई , सुदृढ पारी ,आगामी निर्वाचन मार्फत सात ओटै प्रदेशमा एमाले पहिलो शक्ति बनाउनु अपरिहार्य छ । यो फैसला नै भावी एमालेको शक्ति, ऊर्जा र प्रेरणा हुनेछ ।
 
अन्तिममा....
निर्वाचित हुनेले आफूमा बलेको दम्भको आगो निभाएर , सहयोगी भावना अनुरूप उपविजेता पक्ष र कमिटीमा अटाउन नसकेको पक्ष संग हातेमालो गर्दै अगाडि जानुपर्छ । पछाडि फर्कने ठाउँ राख्नु हुँदैन । एकता , हार्दिकता र सहयोग नै 'नेतृत्वका पखेटाहरू'  हुन् । निर्वाचित कमिटीले पार्टी,  कार्यकर्ता र जनताले दिएको म्यान्डेट अनुसार पार्टीको डुङ्गा अगाडि बढाउन आवश्यक छ । एमालेलाई भोलिको राष्ट्रको पहिलो शक्ति बनाउन पनि सुदृढ र एकताबद्ध एमालेको आवश्यकता छ । यसैमा एमालेको भविष्य छ। तब मात्रै एमालेको युगिन अभिभारा पूरा हुनेछ । तब मात्रै 'सुखी नेपाली ,समृद्ध नेपाल'को नारा,  नारामा सिमित रहने छैन । यो सपनालाई, विपनामा परिणत अब एमालेले मात्रै गर्न सक्छ भन्ने कुरा जनतालाई थाहा छ ।
 

 

प्रतिक्रिया दिनुहोस