शुक्रबार, ०४ असोज २०८१

सुहाङले थाम्लान् त सुवास नेम्वाङको राजनीतिक विरासत ?

धेरैको नजर नेम्वाङका कान्छा छोरा सुहाङमा

काठमाडौं, । संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि इलाम २ मा उनको राजनीतिक उत्तराधिकारी को होला ? नेम्वाङको परिवारकै सदस्यले त्यो विरासत थाम्लान् कि अरु नै नेता उदाउँलान् ? एमालेमा छलफल सुरु भइसकेको छ ।

सभामुख देवराज घिमिरेले २९ भदौको प्रतिनिधिसभा बैठकमा इलाम २ निर्वाचन क्षेत्र रिक्त भएको घोषणा गरेसँगै दिवंगत नेता नेम्वाङको राजनीतिक उत्तराधिकारीको खोजी सुरु भएको हो ।

धेरैको नजर नेम्वाङका कान्छा छोरा सुहाङमा परेको छ ।

प्रत्यक्ष्य राजनीतिमा सक्रिय नभए पनि सुहाङले बुबा सुवास नेम्वाङको राजनीतिमा समेत सहयोग गर्दै आएका थिए । उनलाई राजनीतिमा रुचि पनि छ । कानुन व्यवसायीका रूपमा नेम्वाङको बिडो थामेका सुहाङ उनको राजनीतिक उत्तराधिकारी पनि होलान् ?

‘नेम्वाङको असामयिक निधनले इलाममा ठूलो राजनीतिक रिक्तता छ । त्यो खाडल पुर्न कठिन छ,’ एमाले कोशी प्रदेश कमिटीका एक पदाधिकारी भन्छन्, ‘त्यो रिक्तता पूरा गर्न स्थानीय नेताहरू पनि हुनुहुन्छ । नेम्वाङकै परिवारबाट पनि निस्कनसक्नुहुन्छ । परिवारबाट राजनीतिमा आए सुहाङ नै हो ।’

३० भदौमा समवेदना व्यक्त गर्न बालुवाटार पुगेको एमाले टोलीसँग उनले व्यक्त गरेको विचारले पनि उनी एमाले राजनीतिमा सक्रिय हुने संकेत गरेको छ । सुहाङले बुबाका अधुरा काम पूरा गर्न पार्टीको साथ र आत्मबल प्रदान गर्न भनेका छन् ।

नेम्वाङ परिवारलाई समवेदन दिन अध्यक्ष केपी ओलीको समवेदना पत्रसहित उपाध्यक्ष विष्णु पौडेलसहितका एमाले नेताहरू बालुवाटार पुगेका थिए । ‘हाम्रो परिवार र नेपाललाई ठूलो क्षति भएको अवस्थामा श्रद्धाञ्जली र आत्मबल प्रदान गर्न आउनुभएकोमा म र हाम्रो परिवार एकदमै आभारी छौँ’, एमाले नेताहरूसँग सुहाङले भने, ‘बुबाले गर्नुभएका र अझै गर्नुपर्ने धेरै कामहरूको लागि हजुरहरूले साथ र आत्मबल प्रदान गर्नुहुनेछ ।’

एमालेका जिल्ला अध्यक्ष एवं इलाम १ का सांसद् महेश बस्नेत शोकको घडी भएकाले अहिल्यै त्यतातर्फ ध्यान नदिइएको बताउँछन् । ‘सिंगो पार्टी र उहाँको परिवारमा यति ठूलो चोट लागेको छ । घाउमा खाटा पनि लागेको छैन,’ उनले शिलापत्रसँग भने, ‘नेम्वाङ परिवार शोकबाट बाहिर ननिस्किँदै यसै होला भन्न सकिएन ।’ शिलापत्र

प्रतिक्रिया दिनुहोस