बिहिबार, ०३ असोज २०८१

सुदूरपश्चिममा तीन वर्षको अवधीमा २८१ बहुविवाहका मुद्दा प्रहरीमा

अपराध संहिताको खिल्ली उडाउँदै धमाधम बहुविवाह

धनगढी : सुदूरपश्चिममा मुलुकी अपराध संहिताको खिल्ली उडाउँदै धमाधम बहुविवाह गर्नेको संख्या बढ्दै गएको छ। संहिताको दफा र उपदफालाई नै छलेर यसरी बहुविवाह गर्नेको संख्या बढ्न थालेको हो। यस्ता अधिकांश केसहरु प्रहरी एवं अदालतसम्म समेत पुग्ने गरेका छैनन् ।

प्रदेशभित्र पछिल्लो तीन वर्षको अवधिमा मात्र बहुविवाहका दुई सय ८१ मुद्दा प्रहरीमा दर्ता भएका छन्। मुलुकी ऐनमा बहुविवाह गर्ने कार्यलाई फौजदारी अपराध मान्दै न्युनतम एक वर्षदेखि पाँच वर्षसम्म कैद सजाय गर्ने व्यवस्था छ। अधिकतम पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ। बहुविवाह गरेमा वा गराउने कार्य गर्ने व्यक्तिलाई समेत पाँच वर्षसम्म कैद हुने र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

यस्तो व्यवस्था हुँदाहुँदै पनि प्रदेशभित्र वहुविवाह गर्नेको संख्यामा कमी आउन सकेको छैन्। आर्थिक वर्ष २०७७र७८ मा मात्र बहुविवाहका एक सय १० मुद्दा प्रहरीमा दर्ता भएको तथ्यांक छ। बहुविवाह बर्जित भएको धेरै वर्ष बितिसक्दा पनि कतिपय नेता र समाजका सेलिब्रिटीहरु नै बहुविवाहको चक्करमा पर्दा चर्चाको विषय बन्ने गरेका छन्। प्रेम र सम्बन्ध यसै पनि धेरैले ख्याल गर्ने मानवीय चासो र सरोकारका विषय हुन्।

कानुनले विवाहलाई एक ‘पवित्र सामाजिक तथा कानुनी बन्धन ‘मानेको भए पनि यसलाई खेलौनाको विषय बनाएका प्रशस्तै उदाहरणहरु छन्। विवाह सामाजिक सम्बन्ध हुुँदाहुँदैै पनि तोकेका सीमाहरु ख्याल नगर्दा यो अपराध बन्न पुग्छ र सम्बन्ध कस्नेहरु कानुनको कठघरामा पुग्ने गरेका छन्। सुदूरपश्चिममा आर्थिक वर्ष २०७८र७९ मा मात्र बहुविवाहका ८१ मुद्दा प्रहरीमा दर्ता भएको अभिलेख छ।

मुलुकी देवानी संहिताको दफा ६७ ले कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पतिपत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मान्दछ। विवाह पुरुष र महिलाबीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नका लागि कायम भएको एक स्थायी तथा स्वतन्त्र सहमतिमा आधारित पवित्र सामाजिक र कानुनी बन्धनको रुपमा समेत परिभाषित गरिएको छ। तर घरमा श्रीमती हुँदाहुँदै फेरी अर्को विवाह गर्ने पुरुषको संख्या प्रदेशभित्र अधिक छ।

हरेक व्यक्तिलाई कानुनको अधिनमा रही विवाह गर्ने, परिवार कायम गर्ने तथा पारिवारिक जीवनयापन गर्ने स्वतन्त्रता हुने र जुन माध्यम वा तरिकाबाट विवाह गरिएको भए पनि विवाह सार्वजनिक गरिनुपर्ने शर्त तोकिएको छ।  तर घरमा श्रीमती हुँदाहुँदै लुकीछिपी विवाह गर्ने काम भइरहेको छ। गत आर्थिक वर्ष २०७९र८० मा मात्र प्रदेशभित्र ८० बहुविवाहका मुद्दा प्रहरीमा दर्ता भएको अर्को अभिलेख छ।

वहुविवाह गर्न नपाइने जान्दाजान्दै पनि कतिपयले यस्तो काम गर्दै आएका छन्। मुलुकी अपराध संहिता २०७४ को दफा १७५ को उपदफा ९४० मा बहुविवाहसम्बन्धी कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। दिनेश खबरबाट साभार 

प्रतिक्रिया दिनुहोस