बिहिबार, ०३ असोज २०८१

कैलालीको गोदावरीमा घुस खाएको विषय सार्वजनिक

धनगढी : घुस खाएको विषय सार्वजनिक भएपछि कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ टेकुलामा रहेको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्षसहित पाँच जनाले राजीनामा दिएका छन्। कर्मचारी छनोटको विषयमा संस्थाका पदाधिकारीहरुले नै घुस खाएको विषय बाहिर आएको हो।

गत साउन ८ गते खुलेको मिटर रिडर पदमा कर्मचारी पदपुर्ति गर्नुपर्ने विषयमा संस्थाकै पदाधिकारीहरुले घुस खाएको आरोप छ। सो पदका लागि भदौ ८ गते भएको परिक्षामा सहभागी उम्मेदवारमध्ये सोही वडाकी लक्ष्मी साउँदबाट संस्थाका पदाधिकारीहरुले एक लाख बढी घुस मागेको दाबी छ।


संस्थाका अध्यक्ष खड्कसिंह ओली, सचिव रमेशकुमार ओली र सदस्य जनप्रकाश शाहुले पदपुर्तिका लागि उम्मेदवारी दिएकी लक्ष्मी साउँदबाट रकम माग गरेको र रकम दिएपछि पनि कर्मचारी छनोट नगर्दा घुस खाएको विषय बाहिर आएको हो। समितिले उक्त पदमा सोही वडाकी भगवती विष्टलाई छनोट गरेको छ।

यस विषयमा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खड्कसिंह ओलीले विभिन्न आरोप लगाउने काम भएपछि नैतिकताका आधारमा पदबाट राजीनामा दिएको स्वीकार गरेका छन्। उनले भने, ‘उपभोक्ताबाट विभिन्न किसमका आरोप लाग्न थालेपछि नैतिकताका आधारमा राजीनामा दिएको हुँ।’ ‘कसैबाट घुस मागेको छैन, आरोप लागेपछि राजीनामा दिएको हुँ, अरु विषयमा मलाई केहि पनि जानकारी छैन्।’

तर घुस खाएको विषय बाहिर आएपछि संस्थाका अध्यक्ष सहित पाँच जना पदाधिकारीहरुले राजिनामा दिइसकेका छन्। घुस खाएको आरोप लागेपछि संस्थाका अध्यक्ष ओली र सदस्य जनप्रकाश शाहुले नैतिक रुपमा राजीनामा दिएको प्रतिक्रिया दिएका छन्। पदपुर्ति समितिमा समेत रहेकी सदस्य दुर्गा साउँदले पनि राजिनामा दिएकी छन्।

वडासदस्य समेत रहेकी उनलाई घुस खाएको आरोप नलागेपनि आफु जनप्रतिनिधि भएकाले बदनामित हुन पुगेको संस्थामा नबस्ने भन्दै उनले राजिनामा दिएको बताइएको छ। यस्तै सोही आधारमा संस्थाका लेखासमितिका पदाधिकारीहरुले पनि राजिनामा दिएका छन।

लेखा समितिका पदाधिकारीद्धय पदम साउँद र पुस्करबहादुर सिँहले पनि राजीनामा दिएका छन्। सचिव रमेशकुमार ओलीले भने राजिनामा दिएका छैनन्। उनले मौखिक रुपमा आफुले राजिनामा दिने बताए पनि लिखित रुपमा भने कार्यालयमा राजिनामा बुझाएका छैनन्।


दिनेश खबरबाट साभार 

प्रतिक्रिया दिनुहोस