धनगढी । धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण अलपत्र परेको छ । निर्माण कम्पनीको लापरबाहीका कारण अस्पताल भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भइरहेको हो ।
विसं २०७४ कात्तिक २७ गते रु २१ करोडको लागतमा दुईतले नवजात र मातृशिशु विस्तारित भवन निर्माण गर्न काठमाडौँको रवीना थेगिम जेभीले अस्पतालसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार ३० महिनामा निर्माण कार्य सम्पन्न गरी भवन सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गर्ने उल्लेख छ ।
सो भवन साढे दुई वर्षमा सम्पन्न हुनुपर्नेमा पाँच वर्ष बितिसक्दा पनि ठेकेदार कम्पनीको लापरबाहीका कारण अधुरै रहेको अस्पतालले जनाएको छ । ठेक्का सम्झौता गरेको काठमाडौँको रवीना थेगिम जेभीले पाँच वर्षमा ८० प्रतिशतमात्र काम पूरा गरेको अस्पतालका सूचना अधिकारी सौरभ कलौनीलले जानकारी दिए ।
उनका अनुसार अस्पताल भवन निर्माणको काम अलपत्र पर्दा सेवा प्रवाहमा समस्या भइरहेको छ । धनगढीको मुख्य सडक विस्तारका क्रममा अस्पतालको ओेपिडी भवन भत्किएपछि भवनको अभाव भएको छ । अस्पतालले निर्माणाधीन अधुरो भवनका केही कोठाबाट ओपिडी सेवा सुरु गरेको छ ।
सो भवन निर्माणका लागि पाँचौँ पटकसम्म म्याद थप गरिएको अवधि गत २५ असारमा सकिएको छ । सहरी विकास सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीले सम्झौताअनुसार २०७७ वैशाख २७ मा भवन निर्माणको काम सम्पन्न हुनुपर्ने जनाएको छ । सो भवन निर्माण सम्पन्न गर्न अझै १५र२० प्रतिशत काम बाँकी रहेको छ ।
अस्पतालका सूचना अधिकारी कलौनीले अस्पतालमा झ्याल, ढोका लगाउने, टायल बिच्छ्याउने, रङ्गरोगन गर्ने, शौचालय बनाउने, बिजुलीबत्ती जडान गर्नेलगायत ‘फिनिसिङ’का काम बाँकी रहेको बताए । भवन निर्माणका धेरै काम बाँकी हुँदा पनि निर्माण कम्पनीले काममा तदारुकता नदेखाएको उनको भनाइ छ ।
समयमै ठेकेदार कम्पनीले काम पूरा नगरे ठेक्का रकमको शुन्य दशमलव शुन्य पाँच प्रतिशत दैनिक जरिवाना गरिनाका साथै छ महिनामा काम पूरा नगरे ठेक्का तोडिने अस्पतालले चेतावनी दिएको अस्पताल विकास मितिका अध्यक्ष निर्मल शाहले बताए ।
प्रतिक्रिया दिनुहोस