बाजुरा : त्रिबेणी नगरपालिका वडा नं. १ र २ का वडा कार्यालय, विद्यालयहरू तथा सञ्चालनमा रहेका विभिन्न योजनाहरूको नगर नेतृत्वद्वारा अनुगमन गरिएको छ। अनुगमनका क्रममा सेवाप्रवाह, शैक्षिक अवस्था तथा विकास योजनाको प्रगतिबारे जानकारी लिइएको थियो। अनुगमन कार्यक्रमसँगै त्रिबेणी नगरपालिका वडा नं. २ स्थित घासेगडामा जर्मन सहयोग नियोग (GIZ) को आयोजनामा सम्पन्न चेतनामूलक नाटक कार्यक्रममा पनि नगर नेतृत्वको सक्रिय सहभागिता रहेको थियो।
सो नाटकमार्फत सामाजिक चेतना अभिवृद्धि, जनसचेतना तथा व्यवहार परिवर्तनका सन्देशहरू प्रवाह गरिएको थियो। कार्यक्रममा त्रिबेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर मौनी तथा वडा नं. २ का वडा अध्यक्ष वीर बि.क. को सहभागिता रहेको थियो।
सहभागी जनप्रतिनिधिहरूले यस्ता चेतनामूलक कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभएको छ। नगरपालिकाले विकास निर्माण तथा सामाजिक रूपान्तरणका कार्यक्रमलाई प्राथमिकतामा राख्दै अनुगमन र जनचेतनामूलक गतिविधिलाई निरन्तर अघि बढाउने जनाएको छ।
प्रतिक्रिया दिनुहोस