सोमबार, २१ पुष २०८२

विचारविहीन युवापन: राजनीतिमा चुनौती

“उमेर होइन, विचारले चल्नुपर्छ राजनीति”

पछिल्ला समय नेपाली राजनीतिमा ‘युवा–युवा’ भन्ने शब्द अत्यधिक चर्चामा छ। राजनीतिक दलदेखि सामाजिक सञ्जालसम्म युवापनलाई नै परिवर्तनको एकमात्र आधारका रूपमा प्रस्तुत गरिँदैछ। तर गम्भीर प्रश्न उठ्छ—के राजनीति केवल उमेरका आधारमा मापन गर्न मिल्छ? के कम उमेर हुनु नै राजनीतिक प्रतिनिधित्वका लागि पर्याप्त योग्यता हो? वास्तविकता के हो भने राजनीति उमेरले होइन, विचार, राजनीतिक चेतना, अनुभव र परिपक्वताले चल्ने क्षेत्र हो।

उमेर जवान हुनु स्वाभाविक रूपमा ऊर्जा, उत्साह र परिवर्तनको चाहनासँग जोडिन्छ। तर त्यो ऊर्जा सही दिशा र जिम्मेवारीबोध बिना प्रयोग गरियो भने त्यसले सकारात्मकभन्दा नकारात्मक परिणाम बढी दिन सक्छ। राजनीतिक नेतृत्व भनेको केवल आकर्षक भाषण गर्ने, नाराबाजी गर्ने वा सामाजिक सञ्जालमा लोकप्रिय हुने कुरा मात्र होइन। यो नीति निर्माण, जनताको पीडा बुझ्ने क्षमता, राज्य सञ्चालनको आधारभूत ज्ञान र दीर्घकालीन सोचसँग जोडिएको गम्भीर जिम्मेवारी हो।

राजनीतिक परिपक्वता अनुभवबाट आउँछ। जनआन्दोलनमा सहभागिता, संगठन निर्माणको अभ्यास, नीति बहसमा संलग्नता, स्थानीय तहमा काम गरेको अनुभव—यी सबै प्रक्रियाले एक व्यक्तिलाई प्रतिनिधित्व गर्न योग्य बनाउँछन्। उमेरले जवान भए पनि यदि विचार पुराना छन्, दृष्टिकोण संकुचित छ र लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्धता छैन भने त्यस्तो ‘युवा नेतृत्व’ देशका लागि बोझ बन्न सक्छ। आज हामीले देखिरहेको राजनीतिक अवस्था पनि यही कुरा पुष्टि गर्छ।

उमेरमा नयाँ देखिए पनि व्यवहारमा पुरानै सोच, सत्ताकेन्द्रित प्रवृत्ति, आलोचना सहन नसक्ने मानसिकता र व्यक्तिगत स्वार्थ हाबी भएको नेतृत्वले जनताको विश्वास जित्न सकेको छैन। त्यसैले आजको आवश्यकता ‘उमेरका युवा’ होइन, ‘विचारका युवा’ हो। जसले समयको माग बुझ्छ, परिवर्तनलाई आवेगमा होइन जिम्मेवारीका साथ अगाडि बढाउन सक्छ, र व्यक्तिगत लाभभन्दा माथि उठेर सार्वजनिक हितका लागि काम गर्न सक्छ। राजनीतिक पृष्ठभूमि भनेको केवल परिवार, पहुँच वा आकस्मिक अवसर होइन।

यो निरन्तर सिकाइ, संघर्ष, आत्मअनुशासन र सेवाबाट निर्माण हुने चरित्र हो। राजनीतिमा नयाँ पुस्ताको प्रवेश आवश्यक छ, तर त्यो प्रवेश तयारीसहित, स्पष्ट विचारसहित र राजनीतिक संस्कारसहित हुनुपर्छ। उमेर घट्दैमा देश अगाडि बढ्दैन। विचार परिपक्व बन्दै जाँदा मात्र लोकतन्त्र बलियो बन्छ। त्यसैले प्रतिनिधित्वका मापदण्ड उमेर होइन—विचार, इमानदारी र राजनीतिक परिपक्वता हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस