सोमबार, २१ पुष २०८२

चेतनदीप ऐडी स्मृति हाजिरीजवाफ प्रतियोगिताको उपाधि ऐश्वर्यलाई

कैलाली : धनगढीमा सम्पन्न स्व। चेतनदीप ऐडी स्मृति बृहत् जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसले जितेको छ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु कैलाली जिल्ला कमिटीको आयोजनामा सम्पन्न प्रतियोगितामा ऐश्वर्य बहुमुखी क्याम्पस प्रथम हुँदै नगद ३० हजार रुपैयाँ पुरस्कार हात पार्न सफल भएको हो ।

प्रतियोगितामा जुपिटर एकेडेमी, गौरीगंगा द्वितीय हुँदै २० हजार रुपैयाँ र चौमाला बहुमुखी क्याम्पस, गौरीगंगा तृतीय हुँदै १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । विजयी टोलीहरूलाई अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्का लगायतका अतिथिहरूले पुरस्कार वितरण गरेका थिए । आज एक कार्यक्रमबीच नेकपा एमालेका नेता नारदमुनि रानाले प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा बोल्दै उनले देशको राष्ट्रवादी शक्ति एमाले मात्रै भएको दाबी गरे । ‘देश जलाउनेलाई होइन, देश बनाउने शक्तिलाई जनताले रोज्नुपर्छ । देशको राष्ट्रवादी शक्ति एमाले मात्रै हो,’ उनले भने ।

कार्यक्रममा अनेरास्ववियु कैलालीका अध्यक्ष यज्ञराज ढुंगाना, अनेरास्ववियु प्रदेश संयोजक रोहित बोगटी, हरेन्द्र बुढा लगायतले अनेरास्ववियुले गरेको सृजनशील कामको प्रशंसा गरेका थिए । वि।सं। २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका क्रममा कैलालीको त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालय, दम्था मतदान केन्द्रमा भएको विवादका कारण घरमै गएर एक समूहले चेतनदीप ऐडीमाथि कुटपिट गरेर हत्या गरिएको थियो ।

उक्त घटनामा ज्यान गुमाएका स्व। चेतनदीप ऐडीको सम्झनामा अनेरास्ववियु कैलालीले जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको हो । कैलाली बहुमुखी क्याम्पसमा आयोजित प्रतियोगितामा जिल्लाभरका २३ टिमको सहभागिता रहेको थियो । अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काको अध्यक्षतामा प्रतियोगिता सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस