बाजुरा : नेपाली कांग्रेस नेतृ तथा महाधिवेशन प्रतिनिधि कविता बिष्ट ले प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पार्टीभित्र ‘विशेष महाधिवेशन’ को बहस उचालिनु दुर्भाग्यपूर्ण भएको बताएकी छन्। उनले चुनावी तयारीमा केन्द्रित हुनुपर्ने बेला गुटगत गतिविधिले कांग्रेसलाई कमजोर बनाउने खतरा बढेको धारणा राखेकी छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै देशभर राजनीतिक गतिविधि तीव्र बन्दै गएको अवस्थामा कांग्रेसभित्र देखिएको आन्तरिक असमझदारीले आम कार्यकर्तामा अन्योल सिर्जना गरेको बिष्टको भनाइ छ।
“चुनाव जितेर देशलाई स्थिरता दिने दायित्व कांग्रेसमाथि छ, तर त्यसको साटो विशेष महाधिवेशनको चर्चा चलाइनु पार्टी हितविपरीत छ,” उनले भनिन्। कांग्रेसका महामन्त्रीद्वय तथा उहाँहरूसँग आबद्ध समूहले पार्टी नेतृत्व र केन्द्रीय कार्यसमितिसँग पर्याप्त परामर्श नगरी विशेष महाधिवेशनको तयारी स्वरूप हल बुक गर्नु समानान्तर गतिविधि भएको बिष्टको आरोप छ। “निर्वाचनको मुखमा नेतृत्वलाई बलियो बनाउनुको सट्टा कमजोर पार्ने काम भइरहेको छ, यसले पार्टीलाई विभाजनतर्फ लैजान सक्छ,” उनले चेतावनी दिइन्।
नेतृ बिष्टले गत भदौमा भएको तथाकथित ‘जेन–जी आन्दोलन’ का क्रममा देखिएको उग्र गतिविधिप्रति पनि आपत्ति जनाइन्। उनले उक्त आन्दोलनका नाममा कांग्रेस सभापतिसहित शीर्ष नेतामाथि भएको आक्रमण र आगजनी लोकतन्त्रविरुद्धको कार्य भएको बताइन्। संकटको घडीमा पार्टी नेतृत्वको सुरक्षा र एकता पहिलो प्राथमिकता हुनुपर्ने उनको जोड छ। महामन्त्री पदको गरिमा स्मरण गराउँदै बिष्टले संगठन सुदृढीकरण, क्रियाशील सदस्यता व्यवस्थापन र सांगठनिक काम प्रभावकारी रूपमा अघि बढाउनु महामन्त्रीको मुख्य जिम्मेवारी भएको उल्लेख गरिन्।
“पदीय मर्यादा बिर्सेर सडक आन्दोलन र हल बुक गर्ने शैलीले संगठन कमजोर बनाउँछ,” उनले भनिन्। उनले अहिलेको आवश्यकता ‘एक ढिक्का कांग्रेस’ भएको बताउँदै सम्पूर्ण शक्ति फागुन २१ को निर्वाचनमा केन्द्रित गर्नुपर्ने धारणा राखिन्। विशेष महाधिवेशनजस्तो विषय निर्वाचनपछि मात्रै उठाउनु उपयुक्त हुने उनको सुझाव छ। “पार्टीभित्र आन्तरिक लोकतन्त्र आवश्यक छ, तर पार्टी नै कमजोर हुने गरी होइन,” बिष्टले भनिन्, “संकटको यो घडीमा सबै नेता–कार्यकर्ता पार्टी नेतृत्वको वरिपरि गोलबद्ध भई कांग्रेसलाई पहिलो शक्ति बनाउनु नै हाम्रो साझा दायित्व हो।”
प्रतिक्रिया दिनुहोस