कैलाली : नेकपा एमालेका उपमहासचिव लेखराज भट्ट फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर–४ बाट उम्मेदवारी दिने भएका छन्। क्षेत्रीय समन्वय कमिटीको चौधौँ बैठकले भट्टलाई उम्मेदवार बनाउने निर्णय गर्दै एकल नाम सिफारिस गरेको छ। एमाले कैलालीका उपाध्यक्ष लोकेन्द्र शाहीका अनुसार भट्टको उम्मेदवारीले क्षेत्रका नेता–कार्यकर्ता मात्र होइन, सर्वसाधारण मतदाता पनि उत्साहित भएका छन्।
‘विकास र समृद्धिका लागि अनुभवी र संघर्षशील नेतृत्व आवश्यक छ,’ शाहीले भने, ‘त्यही आवश्यकतालाई मध्यनजर गर्दै भट्टको नाम एकल रूपमा सिफारिस गरिएको हो।’ भट्ट यसअघि पनि यही निर्वाचन क्षेत्रबाट निरन्तर निर्वाचन लड्दै आएका नेता हुन्। २०६४ सालपछि हालसम्म चार पटक निर्वाचनमा प्रतिस्पर्धा गरेका उनले दुई पटक जित र दुई पटक पराजयको सामना गरेका छन्।
हाल उनी एमालेका प्रदेशस्तरका एकमात्र पदाधिकारीसमेत हुन्, जसले पार्टीभित्र उनको भूमिका र अनुभवलाई अझ मजबुत बनाएको छ। अघिल्लो निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनका कारण भट्ट थोरै मतले पराजित भए पनि त्यसपछि क्षेत्रको विकास गति सुस्त भएको गुनासो बढ्दै गएको शाहीको भनाइ छ।
‘अघिल्लो पटक निर्वाचित नेतृत्वले जनअपेक्षाअनुसार काम गर्न सकेन,’ उनले भने, ‘त्यसैले अहिले मतदाताले फेरि एमालेलाई र लेखराज भट्टलाई खोजिरहेका छन्।’ स्थानीयस्तरमा विकास, पूर्वाधार र समृद्धिको आकांक्षा बोकेका मतदाताहरूको अपेक्षालाई सम्बोधन गर्न भट्टको उम्मेदवारी निर्णायक हुने विश्वास एमालेले लिएको छ।
प्रतिक्रिया दिनुहोस