बाजुरा ः जिल्लाकाे गौमुल गाउँपालिका-१ नम्बर वडा अम्लिसमा सार्वजनिक सुनुवाइ तथा आमभेला कार्यक्रम सम्पन्न भएको छ । करिब २५० भन्दा बढी स्थानीय नागरिकहरूको सक्रिय उपस्थितिमा वडाको विकास, बजेट कार्यान्वयन र सामाजिक सुधारका विषयमा छलफल गरिएको हाे । कार्यक्रममा वडा सरकारले आर्थिक वर्ष ०८१/८२ को बजेट खर्च विवरण सार्वजनिक गर्दै जनताबाट अनुमोदन लिएको वडा अध्यक्ष देवेन्द्र बहादुर राेकायाले बताएका छन् ।
साथै आर्थिक वर्ष ०८२/८३ को बजेट जनताको सुझाव र आवश्यकताको आधारमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरिएको हाे । वडा अध्यक्ष देवेन्द्र बहादुर रोकायाले कार्यक्रमलाई सम्बोधन गर्दै वडामा शीघ्र सडक सञ्जाल विस्तार गर्न स्थानीय सरकारलाई दबाब दिने निर्णय गरिएको राेकायाले बताएका छन् ।
उहाँले सडक पहुँचले विकासको ढोका खोल्ने भएकाले यसलाई प्राथमिकतामा राखिएको बताउनुभयो । त्यसैगरी सरकारको हालको मदिरा व्यवस्थापन नीति केही फितलो रहेको निष्कर्ष निकाल्दै थप कडाइका साथ कार्यान्वयन गर्ने निर्णय समेत गरिएको छ ।
मदिराका कारण समाजमा देखिएका नकारात्मक असर न्यूनीकरण गर्न सबैको सहकार्य आवश्यक रहेको अध्यक्ष रोकायाको भनाइ थियो । सार्वजनिक सुनुवाइ तथा आमभेला कार्यक्रमले जनप्रतिनिधि र जनताबीच प्रत्यक्ष संवाद, पारदर्शिता र उत्तरदायित्व बढाएको स्थानीय सहभागीहरूले बताएका छन् ।
कार्यक्रमले जनताको आवाजलाई नीति निर्माणमा समेट्ने सकारात्मक सन्देश दिएको भन्दै सहभागीहरूले वडाको पहलको प्रशंसा गरेका छन् । कार्यक्रममा कार्यपालिका सदस्य मैना चदाँरा, वडा सदस्य फुगे रोकाया, सीता रोकाया, पूर्व जनप्रतिनिधि लगायत स्थानीय सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस