बाजुरा: सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले मार्तडी–कोल्टी सडक खण्डमा पर्ने अनाइखोला पुलको उद्घाटन गरेका छन् । बडीमालिका नगरपालिका–७ र ८ को सिमानामा पर्ने अनाइखोलामा निर्माण गरिएको पक्की पुलको सोमबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । ठेक्का सम्झौता भएको करिब दुई वर्षपछि पुल निर्माण कार्य सम्पन्न भएसँगै आजदेखि सो सडकखण्डमा नियमित सवारी साधन सञ्चालनमा आएको छ । वर्षायाममा निर्माण सामग्री ढुवानीमा समस्या हुँदा काम केही ढिला भएको निर्माण कम्पनीले जनाएको छ ।
पुल निर्माणका लागि २०८० मंसिर २९ गते ठेक्का सम्झौता भएको थियो । ५ करोड ३४ लाख १० हजार ९१८ रुपैयाँ लागतमा आईएस पावर अफ जेभी निर्माण कम्पनीले पुल निर्माणको जिम्मा लिएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको बजेटबाट पुल निर्माण गरिएको भौतिक पूर्वाधार कार्यालय अछामले जनाएको छ । स्थानीयबासीहरूले पुल सञ्चालनमा आएपछि वर्षायाममा हुने आवतजावतको समस्या समाधान हुने, स्वास्थ्य, शिक्षा लगायतका सेवासुविधामा पहुँच सहज हुने र स्थानीय उत्पादन बजारसम्म पु¥याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
उद्घाटन कार्यक्रममा प्रदेश सांसद पदम बहादुर शाही, जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया, बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्का, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो । यसैगरी मन्त्री पालले मार्तडी–कोल्टी सडक खण्ड अन्तर्गत बडीमालिका नगरपालिका–७ मा निर्माण हुन लागेको रजातोली सडक पुलको शिलान्यास पनि गरेका छन् ।
शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री पालले दुर्गम तथा पहाडी जिल्लाको समग्र विकासका लागि सडक र पुलजस्ता भौतिक पूर्वाधार अत्यावश्यक रहेको बताए । उनले भने, “पूर्वाधार विकास बिना समृद्धि सम्भव छैन । बाजुरा जस्ता दुर्गम जिल्लामा पुल निर्माणले जनजीवन सहज बनाउनुका साथै आर्थिक गतिविधि विस्तारमा ठूलो योगदान पु¥याउँछ । रजातोली पुल यस क्षेत्रको विकासमा कोशेढुंगा सावित हुनेछ ।” मन्त्री पालले निर्माण कार्य समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न सम्बन्धित निकाय र निर्माण कम्पनीलाई निर्देशन दिँदै विकास आयोजनामा कुनै पनि प्रकारको लापरबाही सहन नसकिने स्पष्ट पारे ।
पूर्वाधार विकास कार्यालय साँफेबगर, अछामको आयोजनामा निर्माण हुन लागेको उक्त पुल आरसीसी मोटरेबल पुल हुनेछ । पुल एकल स्पानको रहने र यसको लम्बाइ २० मिटर हुनेछ । साथै पहुँच सडक निर्माण, नदी प्रशिक्षण तथा संरक्षणसम्बन्धी कार्य समेत गरिने जनाइएको छ । पुल निर्माणका लागि २०८२ चैत २२ गते सम्झौता भएको र २०८४ चैत २० गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाको कुल लागत ३ करोड ५८ लाख २५ हजार १०० रुपैयाँ ९३ पैसा (भ्याटसहित) रहेको छ । स्थानीयवासीहरूले पुल निर्माणपछि वर्षायाममा हुने आवतजावतको समस्या समाधान भई सेवा–सुविधामा पहुँच बढ्ने र स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन सहज हुने अपेक्षा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस