बाजुरा : नेपाली काँग्रेसको वर्तमान कार्यसमितिकी कान्छी केन्द्रीय सदस्य तथा साहित्य, कला तथा संस्कृति विभाग प्रमुख समेत रहेकी बाजुराकी विद्यादेवि तिमिल्सिना नेपाली काङ्ग्रेसबाट समानुपातिक उम्मेदवारको बन्द सूचीमा समेटिएकी छन् । गृह जिल्लाबाट समानुपातिकमा सिफारिस भएकी तिमिल्सिना प्रदेशबाट समेत खस आर्य महिलातर्फ पिछडिएको क्षेत्रबाट एक नम्बरमा उनको नाम पेस भएको थियो ।
२०५६ सालमा औपचारिक रूपमा नेपाल विद्यार्थी सङ्घको सक्रिय सदस्य भएर आफ्नो राजनीतिक यात्रा आरम्भ गरेकी तिमिल्सिना संस्कृतिकर्मी पनि हुन् । २०६५ सालमा नेपाल सांस्कृतिक सङ्घको केन्द्रीय सदस्य बनेकी उनी प्रजातान्त्रिक महासङ्घ महिला केन्द्रीय सदस्य, पार्टीका विभिन्न भूमिकामा पनि पनि छिन् ।
बिद्याको गृह जिल्ला बाजुराबाट यस अघि प्रत्यक्ष निर्वाचित र अघिल्लो सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आगामी प्रतिनिधि सभाको चुनावमा उम्मेदवार घोषणा गरेकाले उनको नाम समानुपातिक र प्रत्यक्ष दुबैतर्फ सिफारिस गरिएको छैन । पाण्डेले नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने सोचेर चुनाव नलड्ने निधो गरेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस