शुक्रबार, ०२ कार्तिक २०८१

सुन तस्करी प्रकरण : उच्चस्तरीय छानबिन समिति बनाउन दलहरुबीच सहमति

प्रतिनिधिसभाको बैठक आज बस्दै. सर्वदलीय बैठक पनि बस्ने

काठमाडौँ : सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन दलहरुबीच सहमति भएको छ ।

हिजो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शीर्ष तहको बैठकमा छानबिन समिति बनाउन मोटामोटी सहमति भएको हो ।बैठकमा सत्तारुढ दल उच्चस्तरीय छानबिन समिति बनाउन तयार भएको एमालेका प्रमुख सचेतक पद गिरीले बताउनुभयो ।

तर त्यसको टीओआर के बनाउने भन्ने विषय टुंगिन बाँकी रहेको उहाँको भनाइ छ ।यो विषयमा होमवर्क गर्नुपर्ने भएकाले सुवास नेम्वाङ, हितराज पाण्डे र रमेश लेखकले ड्राफ्ट तयार गर्नेगरी आज बिहान ११ बजेसम्मको समय दिइएको छ ।

 प्रतिनिधिसभाको बैठक आज बस्दै
 

 प्रतिनिधिसभाको बैठक आज (मंगलबार)  दिउँसो ३ बजेका लागि बोलाइएको छ ।आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।साउन १० गतेयता अवरुद्ध रहेको सदनलाई सुचारु गराउने विषयमा दलहरू सहमति नजिक पुगेकोले आजको बैठकले निरन्तरता पाउने अपेक्षा गरिएको छ ।

यसैबिच राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा​ सर्वदलीय बैठक पनि आजै बस्दैछ।  बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ। सुन तस्करी प्रकरणका कारण अवरुद्ध संसद् खुलाउने पहलका लागि राष्ट्रपतिले बैठक बोलाएका हुन्।यद्यपि सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताबीच सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च स्तरीय समिति बनाउने र सदन खुलाउने विषयमा सोमबार साँझ सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस