बाजुरा : बुढीनन्दा नगरपालिकाका १० वर्षीय सौरव मल्लले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्दै आफ्नो मात्र होइन, सिङ्गो बाजुरा जिल्लाको शिर गर्वले उचालेका छन्। काठमाडौंस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार सम्पन्न १५औँ अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप–२०२५ मा सौरवले उत्कृष्ट कौशल, अनुशासन र आत्मविश्वास प्रस्तुत गर्दै स्वर्ण पदक हात पारेका हुन्।
प्रतियोगितामा सहभागी चन्द्रागिरी तेक्वान्दो डोजाङ्गले समग्रतामा ९ स्वर्ण, ७ रजत र ३ कास्य पदक जित्दै प्रभावशाली उपस्थिति जनाएको छ। सोही डोजाङ्गबाट प्रतिस्पर्धा गरेका सौरवको प्रदर्शन विशेष रूपमा प्रशंसनीय रह्यो। बाजुरा जिल्ला बुढीनन्दा नगरपालिका–५ निवासी हिमशिखर मल्लका छोरा सौरव हाल काठमाडौंको चन्द्रागिरी नगरपालिकामा बसोबास गर्दै नियमित अभ्यास गरिरहेका छन्।
सानै उमेरदेखि खेलप्रति देखाएको रुचि, अनुशासन र निरन्तर अभ्यास आज स्वर्ण पदकमा परिणत भएको बुबा हिमशिखर मल्ल बताउँछन्। “छोरालाई खेलमै केन्द्रित गराएर सक्षम खेलाडी बनाउने सपना थियो, आज त्यो सपना पूरा हुँदै गएको अनुभूति भएको छ,” उनले भने, “अब उसलाई खेलकै माध्यमबाट अगाडि बढाउने मेरो अठोट छ।” सानो उमेरमै अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्नु सौरवको व्यक्तिगत उपलब्धिमात्र नभई ग्रामीण भेगका प्रतिभाहरूले अवसर पाए कति ठूलो सम्भावना बोकेका हुन्छन् भन्ने प्रेरणादायी उदाहरण पनि बनेको छ।
प्रतिक्रिया दिनुहोस