सोमबार, २९ मङि्सर २०८२

चन्द्रबहादुर बोहरा : अछाम एमालेको पुनर्जीवनका अगुवा, केन्द्रीय नेतृत्वका योग्य उम्मेदवार

अछाम : नेकपा एमालेको ११औँ महाधिवेशनमा अछामबाट केन्द्रीय सदस्यका उम्मेदवारका रूपमा चन्द्रबहादुर बोहराले उम्मेदवारी अघि सरेका छन्।

भीम रावलको प्रभाव रहेको अछाममा पार्टी विभाजन र रावलको निष्कासनपछि एमाले संगठन अन्योल र तरल अवस्थाबाट गुज्रिरहेको थियो। यही संवेदनशील घडीमा चन्द्रबहादुर बोहराले संगठनलाई पुनः एकताबद्ध गर्दै कार्यकर्तामा भरोसा र उत्साह जगाए। 

पार्टी छाड्ने होइन, पार्टी जोगाउने निर्णय गर्दै उनले कठिन जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गरे, जसको परिणामस्वरूप आज अछाममा एमाले पुनः सशक्त रूपमा उभिएको छ।

उनले आफ्नो  उम्मेदवारी कुनै आकस्मिक निर्णय नभई, स्वभाविक र न्यायीक भएको बताए । अछामको कमजोर बन्दै गएको संगठनलाई कठिन समयमा उनले देखाएको नेतृत्व, धैर्य र संगठनात्मक क्षमताको स्वाभाविक परिणाम भएको कार्यकर्ताको बुझाइ छ।

विद्यार्थी राजनीतिबाट संघर्ष सुरु गरेका बोहरा लामो समयदेखि संगठन निर्माणको मैदानमा खारिएका नेता हुन्। २०४८ सालमै अछाम बहुमुखी क्याम्पसबाट अनेरास्ववियु नेतृत्व सम्हाल्दै सुरु भएको उनको राजनीतिक यात्रा जिल्ला, अञ्चल र केन्द्रसम्म पुगेको छ। अनेरास्ववियु जिल्ला अध्यक्ष, अञ्चल कमिटी सचिव, राष्ट्रिय परिषद् सदस्य हुँदै केन्द्रीय कमिटी सदस्यसम्मको जिम्मेवारी निर्वाह गरेका बोहराले नेकपा एमाले इलाका कमिटी सचिव, जिल्ला कमिटी सदस्य, पार्टी कार्यालय सचिव र नगर कमिटी इन्चार्जका रूपमा पनि संगठन सुदृढ पार्ने काम गरेका छन्।

नेकपा कालमा दुई लाइनको संघर्ष उत्कर्षमा पुगेका बेला संस्थापन पक्षको जिल्ला कमिटी अध्यक्षका रूपमा उनले संगठन जोगाउन निर्णायक भूमिका खेले। पछिल्लो पटक २०७८ साल पौषमा सम्पन्न नेकपा एमाले अछामको आठौँ जिल्ला अधिवेशनबाट उनी जिल्ला अध्यक्षमा निर्वाचित भए। त्यसयता विभाजन, टुटफुट र दबाबबीच पनि उनले पार्टीलाई एकताबद्ध राख्दै जनस्तरसम्म एमालेको प्रभाव विस्तार गरेका छन्।

जनतामाझ सरल, स्पष्ट र भरोसायोग्य नेताका रूपमा चिनिएका बोहरा कार्यकर्तामाझ मात्र होइन, आम नागरिकको विश्वास जित्न सफल छन्। अछामको संगठनलाई थप मजबुत बनाउन र केन्द्रमा जिल्लाको प्रभावकारी उपस्थिति सुनिश्चित गर्न उनको केन्द्रीय सदस्यमा उपस्थिति आवश्यक ठानिएको छ।

पार्टी संकटमा पर्दा अगाडि उभिने, संगठन कमजोर हुँदा पुनर्जीवन दिने र कठिन परिस्थितिमा पनि विचलित नहुने नेतृत्व क्षमताका कारण चन्द्रबहादुर बोहरा एमालेको केन्द्रीय नेतृत्वका लागि आज एक बलियो र भरोसायोग्य विकल्पका रूपमा देखिएका छन्।

प्रतिक्रिया दिनुहोस