सोमबार, २९ मङि्सर २०८२

युवाको ऊर्जा, उत्पीडितको भरोसा: मोती विक केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

उत्पीडित आवाजको प्रतिनिधित्व: एमाले केन्द्रीय सदस्यमा मोती विकको दाबी

काठमाडौं : संघर्ष, समर्पण र परिवर्तनको निरन्तर यात्राबाट खारिएको नाम हो—मोती विक। दुर्गम अछाम जिल्लाको पवित्र माटोमा जन्मिएर उत्पीडित समुदाय, विद्यार्थी र युवाको आवाजलाई राष्ट्रिय राजनीतिसम्म पुर्‍याउँदै आएका विक आज नेकपा (एमाले) को ११औँ महाधिवेशनमा दलित उत्पीडित क्लस्टरबाट केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका छन्।

नाम जस्तै दलित मुक्ति आन्दोलनका ‘मोती’ मानिने विकको राजनीतिक यात्रा केवल पदको आकांक्षामा सीमित छैन। यो यात्रा सामाजिक न्याय, समान अवसर र उत्पीडित समुदायको आत्मसम्मान पुनःस्थापनासँग गाँसिएको छ। अछामको दुर्गम भूगोलबाट राजधानीसम्म आइपुग्दा उनले संघर्षलाई साथी बनाए, दृढतालाई मार्गदर्शक बनाए र परिवर्तनलाई लक्ष्य बनाए।

विद्यार्थी राजनीतिबाट संगठित संघर्षको यात्रा थालेका विक नेपाल कमर्स क्याम्पस, मिनभवनमा स्ववियु सदस्य हुँदै उपसभापति बने। त्यसपछि अनेरास्ववियु केन्द्रीय कमिटीको स्ववियु परिचालन विभाग सचिवको जिम्मेवारी सम्हाले। निरन्तर सक्रियता, संगठनात्मक क्षमता र प्रतिबद्धताका कारण उनी अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष हुँदै पार्टी प्रदेश कमिटी सदस्यसम्म पुगे।

विक भन्छन्, “मैले सम्हालेका कुनै पनि पद मेरो यात्राको शिखर थिएनन्। ती त शोषित, उत्पीडित र अवसरवञ्चित युवाहरूका सपनालाई राज्यको मूलधारमा पुर्‍याउने यात्राका आधार मात्रै थिए।”

११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्दै उनले यसलाई व्यक्तिगत पद–लालसाको रूपमा नभई उत्पीडित समुदायको साझा आवाजका रूपमा परिभाषित गरेका छन्। उनका अनुसार यो उम्मेदवारी उत्पीडित समुदायको आत्मसम्मानको पुनःस्थापना, समान अवसरको सुनिश्चितता र दुर्गम गाउँका आवाजलाई केन्द्रसम्म पुर्‍याउने दृढ संकल्प हो।

“परिवर्तन भाषणले होइन, व्यवहारले हुन्छ,” विकको भनाइ छ, “र म यही व्यवहारिक परिवर्तनको बाटोमा दृढतापूर्वक अघि बढ्न तयार छु।”

युवा ऊर्जा, निष्ठा र इमानदारीलाई पार्टी र आन्दोलनको शक्ति बनाउने लक्ष्यसहित अघि बढेका मोती विकको उम्मेदवारीलाई दलित समुदाय, विद्यार्थी र युवामाझ आशा र भरोसाको रूपमा हेरिएको छ। समर्थकहरू भन्छन्—यो उम्मेदवारी केवल व्यक्तिको होइन, लामो समयदेखि दबाइएका आवाजहरूको प्रतिनिधित्व हो।

प्रतिक्रिया दिनुहोस