शनिबार, २७ मङि्सर २०८२

सुदूरपश्चिम रोयल्स कि लुम्बिनी लायन्स ? कसले जित्ला एनपीएल ?

काठमाडौं: नेपाल प्रिमियर लिग एनपीएलकोे फाइनल खेल आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुँदैछ । आजको खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् । लिग चरणका २८ खेल र प्लेअफका ३ खेल सकिएपछि उपाधि विजेता तय गर्ने निर्णायक खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ।

सुदूरपश्चिम रोयल्सले फाइनलसम्मको यात्रामा आफूलाई निकै बलियो रुपमा प्रस्तुत गरेको छ । लिग चरणमा लगातार पाँच खेल जितेर प्लेअफमा स्थान बनाएको सुदूरपश्चिम केवल एक खेलमा पराजित भयो । लिग चरणको अन्तिम खेलमा विराटनगर किङ्ग्ससँग सुदूरपश्चिम रोयल्सले हार व्यहोरेको थियो । अन्तिम खेलमा पराजय भोग्यो । तर, पहिलो क्वालिफायरमा त्यही विराटनगर किङ्सलाई नै ७७ रनले पराजित गर्दै सुदूरपश्चिमले सीधै फाइनल यात्रा तय ग¥यो । गत वर्ष जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित हुँदै उपविजेता बनेको सुदूरपश्चिमले यसपटक विजेताको उपाधि जित्ने लक्ष्य राखेको छ ।


सुदूरपश्चिमको टोली ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा अब्बल देखिएको छ । कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा टोलीले लिग चरणमा काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स र चितवन राइनोजमाथि प्रभावशाली जित हासिल गरेको छ । व्यक्तिगत प्रदर्शनमा विनोद भण्डारीले ८ खेलमा आफ्नो टिमका लागि सर्वाधिक २६४ रन बनाएका छन् । आरिफ शेखले १८०, कप्तान ऐरी १४९, इशान पाण्डे १२७ र हरमित सिंहले १२३ रन बनाएका छन् ।

बलिङमा अविनाश बोहराले १६ विकेटसहित प्रतियोगिताकै दोस्रो सर्वाधिक विकेट लिएका छन् । हरमित सिंहले १२, स्कट कुगेलाइनले १० र कप्तान ऐरीले ८ विकेट लिएका छन् । कप्तान ऐरीले १० क्याच र डाइरेक्ट हिट रन आउटमार्फत फिल्डिङमा पनि प्रभावशाली प्रदर्शन गरेका छन् ।


अर्कोतर्फ, कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स गत संस्करणमा लिग चरणमै बाहिरिएको थियो । तर, यस संस्करणमा निरन्तर सुधारिएको खेल देखाउँदै ट्रफी उठाउने दृढ संकल्पका साथ लुम्बिनीले फाइनल खेल्दैछ । सुरुवाती खेल जितेपछि लगातार तीन खेलमा पराजित भए पनि अन्तिम तीन खेलमा विजय हासिल गर्दै प्लेअफमा स्थान बनाएको लुम्बिनीले इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ४ विकेटले हरायो ।

त्यसपछि दोस्रो क्वालिफायरमा पनि लुम्बिनीले विराटनगर किङ्सलाई ४० रनले हराउँदै फाइनलमा प्रवेश गर्यो । प्रतियोगिताको बीचमा विदेशी खेलाडी र टिम संयोजनमा परिवर्तनले टोलीमा सकारात्मक प्रभाव पारेको छ । मध्यक्रमको ब्याटिङ अझ बलियो बन्ने सम्भावना छ भने बलिङमा पनि लुम्बिनी बलियो देखिएको छ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ९ खेलमा २६० रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरेका छन् । अस्ट्रेलियन डार्शी शर्टले २४२ रन बनाएका छन् भने निरोशन डिक्वेलाले ५ खेलमा १२६ रन योगदान दिएका छन्। बलिङमा शेर मल्ल १४ विकेटसहित सर्वाधिक विकेट लिएका छन् भने नामिबियाका खेलाडी रुबेन ट्रम्पलमनले १२ विकेट लिएका छन् । यी दुई बलरले विपक्षीलाई सुरुवातदेखि नै दबाबमा राखेका छन् । कप्तान रोहित पौडेलले पनि ७ विकेट लिएका छन् ।

यसरी, फाइनल खेल सुदूरपश्चिम रोयल्सको स्थिर प्रदर्शन र बलियो समग्र टोली क्षमताको सामना लुम्बिनी लायन्सको उतारचढाव पछिको मजबुत पुनरागमन र प्रभावशाली बलिङसँग हुनेछ । दुवै टोलीका खेलाडीहरूको प्रदर्शन र रणनीतिले फाइनल खेललाई अत्यन्तै रोमाञ्चक र निर्णायक बनाउने देखिन्छ । यो खेल दर्शकहरूका लागि निश्चित रूपमा उत्कृष्ट रोमाञ्चक क्षण प्रदान गर्नेछ।

नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सञ्चालनमा आएको यस प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका थिए । आज दुई सबल टोलीमध्ये एकले पहिलो पटक एनपीएल ट्रफी उचाल्ने छ । एनपीएलको विजेताले रु १ करोड १० लाखको आकर्षक पुरस्कार रकम प्राप्त गर्नेछ । उपविजेताले रु ५१ लाख, तेस्रो स्थानले रु २५ लाख र चौथो स्थानले रु १५ लाख हात पार्नेछ ।

प्रतिक्रिया दिनुहोस