बिहिबार, २५ मङि्सर २०८२

एमाले ११औं महाधिवेशन : ४० वर्षमुनिको कोटाबाट केन्द्रीय सदस्यमा (एल.बी.) सिंहको उम्मेदवारी, विद्यार्थी आन्दोलनदेखि राष्ट्रिय नेतृत्वसम्मको यात्रा

काठमाडौँ : नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र युवा नेतृत्वका विषयमा चर्को चर्चा भइरहेको छ। यही बीचमा बझाङका सक्रिय युवा नेता लोकेंद्र बहादुर सिंह (एल.बी.) ले ४० वर्षमुनिको कोटाबाट केन्द्रीय कमिटी सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। लामो समय विद्यार्थी आन्दोलन, संगठन निर्माण र स्थानीयदेखि केन्द्रसम्मको नेतृत्व अनुभव बटुलेका सिंहलाई युवामाथिको राजनीतिक भरोसाका रूपमा हेरिएको छ।

सिंहको राजनीतिक यात्रा २०५७ सालमा अनेरास्ववियुका प्रारम्भिक समितिको अध्यक्षताबाट सुरु हुन्छ। २०६० सालमा पार्टीको संगठित सदस्यता पाइसकेपछि उनी २०६१ मा फेरि अनेरास्ववियुको प्रा.क. अध्यक्ष बने। २०६२ सालमा जयपृथ्वी बहुमुखी क्याम्पसका निर्वाचित स्ववियू सचिव बनेसँगै उनको प्रभाव बझाङ जिल्लामा बढ्दै गयो। २०६२ देखि २०६५ सम्म अनेरास्ववियु बझाङ जिल्ला अध्यक्षका रूपमा उनले विद्यार्थी आन्दोलनलाई सशक्त रूपमा अघि बढाए। २०६६ मा सेती अञ्चल सह–संयोजक, २०६७ मा त्रिभुवन विश्वविद्यालय अखिल फोर्स इञ्चार्ज र २०६८ मा अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य बनेपछि सिंहको नेतृत्व क्षमता राष्ट्रिय स्तरमा स्थापित हुँदै गयो। २०७० सालमा अनेरास्ववियु केन्द्रिय लेखा आयोग सदस्य, २०७२ मा केन्द्रिय सचिवालय सदस्य तथा सुदूरपश्चिम इञ्चार्ज भएर उनले संगठन विस्तारमा महत्वपूर्ण योगदान दिए। २०७६ मा उनले स्थायी कमिटी सदस्यका रूपमा काम गरे भने २०७८ मा अनेरास्ववियुको केन्द्रीय सचिव तथा सम्पर्क विभाग प्रमुखको जिम्मेवारी पाए। सिंहको सक्रियता केवल विद्यार्थी क्षेत्रमा सीमित रहेन। २०७८ बाट उनले एमाले बझाङ जिल्ला कमिटी सचिवालय सदस्य र खप्तडछान्ना गाउँपालिकाका उत्प्रेरकको भूमिका सम्हाले। २०७९ मा गाउँपालिका इञ्चार्ज बने र सोही वर्ष अध्यक्ष पदका उम्मेदवार समेत भए।

२०८० मा भूमि अधिकार तथा श्रमिक संगठन नेपालका प्रदेश अध्यक्ष र २०८२ मा सोही संगठनका केन्द्रीय कमिटी उपमहासचिव बनेपछि उनको राजनीतिक यात्रा थप उक्लिएको छ। हाल सिंह ११औं महाधिवेशनका प्रतिनिधि रहेका छन्। उनले महाधिवेशनलाई पार्टीभित्र “युवा पुस्ताको वास्तविक प्रतिनिधित्व स्थापित गर्ने अवसर” भन्दै ४० वर्षमुनिको कोटाबाट आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्। उनका निकटस्थहरूका अनुसार सिंह ‘अभियानमा अगाडि, संगठनमा दृढ, व्यवहारमा सहज र दृष्टिमा प्रष्ट नेता’ का रूपमा पहिचान बनाउँदै आएका छन्।

विद्यार्थी राजनीति, स्थानीय नेतृत्व, जिल्ला कमिटीको अनुभवदेखि लिएर केन्द्रिय भूमिकासम्म निरन्तर उक्लिएको उनको यात्रा पार्टीभित्र युवाको दीर्घकालीन नेतृत्व विकासका लागि उदाहरणीय मानिएको छ। एमालेको ११औं महाधिवेशनलाई पार्टीको भविष्यदिशा तय गर्ने निर्णायक क्षणको रूपमा हेरिएको छ। यस्तो बेला सिंह जस्ता अनुभवसम्पन्न युवाले केन्द्रीय स्तरमा उम्मेदवारी दिनुले संगठनभित्र नयाँ नेतृत्वको बाटो खुला भएको छ। सिंहले प्रतिनिधिहरूलाई सम्बोधन गर्दै भनेका छन्, “हाम्रो पुस्ताले संगठन, आन्दोलन र जनताका मुद्दामा दिएको योगदानलाई अब केन्द्रीय नेतृत्वसम्म लैजानुपर्ने बेला आएको छ। पार्टीलाई आधुनिक, परिणाममुखी र युवा–मुखी बनाउने हाम्रो साझा जिम्मेवारी हो।” उनको उम्मेदवारीले सुदूरपश्चिम मात्रै होइन, देशभरका युवा कार्यकर्ताबीच चासो र उत्साह बढाएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस