बिहिबार, २५ मङि्सर २०८२

एमाले ११औं महाधिवेशन : “एमालेले दलका लागि होइन, देशका लागि नेतृत्व छान्छ”- पद्मा अर्याल

काठमाडौँ : नेकपा (एमाले) ११औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्व चयनको प्रक्रिया र आन्तरिक लोकतन्त्रबारे बहस तीव्र बनेको छ। महाधिवेशन प्रचार समिति प्रमुख पद्मा अर्यालले एमालेले दलको लागि मात्र होइन, देशको आवश्यकता पूरा गर्ने नेतृत्व चयन गर्ने बताएकी छन्। उनका अनुसार पार्टीले विश्व समुदायसँग सिधा बहस गर्न सक्ने, ठोस विचार राख्न सक्ने, राष्ट्रिय–अन्तर्राष्ट्रिय चुनौती बुझ्न सक्ने, क्षमतावानमध्येबाट सर्वश्रेष्ठ व्यक्ति छान्ने तयारी गरेको छ। “सर्वस्वीकार्य नेतृत्व छान्नु नै राम्रो हो। देश निर्माणमा अडान, योजना र स्पष्ट एजेन्डा राख्न सक्ने क्षमता अनिवार्य छ,” अर्यालले भनिन्।

अर्यालले नेतृत्व चयनमा सहमति पहिलो प्राथमिकता हुने तर सहमति नजुटे मर्यादित र स्वस्थ प्रतिस्पर्धा अपरिहार्य हुने स्पष्ट पारिन्। “पार्टीभित्रको आन्तरिक लोकतन्त्रको संस्कार सुरू गर्ने दल एमाले नै हो। त्यसैले प्रतिस्पर्धा कुनै असामान्य कुरा होइन,” उनले भनिन्। यसपटकको ११औं महाधिवेशनलाई उनले ऐतिहासिक बताइन्। सल्लाघारीमा आयोजना हुने विशाल सभालाई उनले “इतिहासमा दस्तावेज भएर बस्ने सभा” को रूपमा वर्णन गरिन्। साथै विश्व सम्पदा सूचीमा अटाएको चाँगुनारायण मन्दिर परिसरमा विशेष सांस्कृतिक सन्देश दिने कार्यक्रम गरिने पनि उनले खुलासा गरिन्। अर्यालले पार्टीभित्र वैचारिक एकता उच्च रहेको दाबी गर्दै भनिन्, “एमालेभित्र वैचारिक भिन्नता छैन। जबज विरोधी कोही छैन।

पदका लागि प्रतिस्पर्धा स्वभाविक हो, तर सिद्धान्तमा कुनै मतभेद छैन।” उनका अनुसार देश निर्माणमा एमाले अहिले विकल्पहीन शक्तिको रूपमा स्थापित भइसकेको छ। “अब एकता र बलियो संगठन आवश्यक छ। यो महाधिवेशन नेतृत्व छनोटमा नै केन्द्रीत हुनेछ,” उनले भनिन्। फरक मत वा आन्तरिक बहसबारे उनले भने, “छलफल गर्ने–नगराउने कुराहरू बन्दसत्रमै समेटिने छन्। पार्टीले आवश्यक प्रक्रिया अपनाउँछ।” अर्यालले आफू कतै पदको आकांक्षी नभएको स्पष्ट पार्दै भनिन्, “म कुनै पद माग्दिन। जहाँ आवश्यक हुन्छु, पार्टी नेतृत्वले अनुभव गराओस्। पाएको जिम्मेवारी पूरा गर्न म तैयार छु।” हालै सार्वजनिक भएका केही आरोपबारे पनि उनले टिप्पणी गरिन्। “केपी शर्मा ओली महिला–मैत्री छैनन् भन्ने कुरा तथ्यमा आधारित छैन।

त्यो केही व्यक्तिको आरोप र आक्रोश मात्रै हो,” उनको भनाइ छ। महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयन, संगठनात्मक रूपान्तरण र पार्टीभित्रको लोकतान्त्रिक अभ्यासबारे भइरहेको खुलेआम बहसले यस महाधिवेशनलाई अन्य महाधिवेशनभन्दा फरक र ऐतिहासिक बनाइदिएको विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस