बाजुरा : बाजुरा स् राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, जिल्ला कमिटी बाजुराले शुक्रबार गर्ने जिल्ला अधिवेशनका सम्पूर्ण तयारी पूरा भएको छ ।
जनसांस्कृतिक माध्यमबाट सामाजिक सद्भाव तथा पहिचान संरक्षणलाई अझ प्रभावकारी बनाउने उद्देश्य सहित आयोजना गरिएको अधिवेशनमा राष्ट्रियदेखि स्थानीय तहसम्मका कलाकारहरू र स्थानीय बासिन्दाको समेत व्यापक सहभागिता रहने जनाइएको छ ।
कार्यक्रममा राष्ट्रिय कलाकार ध्वज महरा, लक्ष्मी आचार्य, मन रोकाया लगायतका चर्चित कलाकारहरूले विशेष सांस्कृतिक प्रस्तुति रहनेछन् ।
त्यस्तै स्थानीय कलाकार सुना विक, गंगा विष्ट, राम थापा र तुला थापाबीचको रोचक डेउडा घम्सा–घम्सी प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण मानिएको छ ।
अधिवेशनको उद्घाटन सदरमुकाम मार्तडीमा हुने र उद्घाटन समारोहमा झाँकीसहित विविध सांस्कृतिक प्रस्तुति समावेश गरिने सल्लाहकार कृष्ण ओलीले जानकारी दिएका छन् ।
स्थानीय समुदाय, विभिन्न संघ–संस्था तथा सांस्कृतिक समूहहरूको सक्रिय सहभागिताले कार्यक्रम झनै भव्य र प्रभावशाली हुने आयोजकको अपेक्षा रहेको छ ।
सशक्त, सक्षम र समावेशी नेतृत्व चयन गर्ने उद्देश्यसहित आयोजना गरिएको अधिवेशन प्रभातफेरि पछि बिहान १० बजे खुला मञ्चबाट औपचारिक रूपमा सुरु हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस