सोमबार, ०१ मङि्सर २०८२

बाजुराका युवाले गरे राजधानीमा फुटसल, बाजुरा युथ कनेक्टले जित्यो उपाधी

काठमाडौं : राजधानी काठमाडौंमा बसोबास गर्दै आएका बाजुराका युवाहरुले खुला फुटसल प्रतियोगिता आयोजना गरेका छन् । युवा बीचको आपसी सद्भाव र सहकार्य बढाउन र खेल क्षेत्रमा युवा आकर्षण बढाउन फुटसल आयोजना गरिएको हो ।

जागिर र पढाइको शिलशिलामा काठमाडौंमा बस्दै आएका युवाहरुकै सहकार्यमा बाजुरा युथ कनेक्ट सञ्जाल गठन गरेर प्रतियोगिता आयोजना गरिएको अध्यक्ष विमल रोकायाले बताएका छन् । सेभन ए साइड खुला फुटसल प्रतियोगिता नाम दिएर खेल आयोजना गरिएको हो ।

बाजुरा जिल्लाकै खेलाडी सहभागि गराउने गरि सञ्चालन गरिएको खेलमा १६ टिम सहभागि थिए । खेलको उद्घाटन नेपाली फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङले गरेका हुन् । खेल किर्तिपुरको मतस्य नारायण रिक्रिएसन केन्द्रको फुटसल ग्राउन्डमा सञ्चालन गरिएको हो । आयोजनामा १ सय ६० बढी खेलाडी सहभागि थिए । 

प्रतियोगिताको उपाधी आयोजक बाजुरा युथ कनेक्टले नै जितेको छ । भने उपविजेता सूर्यतारा फाउण्डेशन बनेको छ । विजेताले ४१ हजार १ सय ११ नगद सहीत ट्रफी, प्रमाण पत्र प्राप्त गरेको छ । भने उपविजेता सूर्यताराले १८ हजार १ सय ११ नगद सहीत ट्रफी र प्रमाण पत्र हात पारेको छ । विजेतालाई युवा अभियान्ता भनेर चिनिएका हेमराज थापाले सम्मान तथा पुरस्कार वितरण गरेका थिए । 

खेलमा हिमाल बडुवालले उत्कृष्ट खेलाडीको उपाधी पाएका छन् । भने आयोजक टिमका मनोज नेपालीले उत्कृष्ट गोल रक्षकको उपाधी पाएका छन् । बाजुरा खेल क्षेत्रका लागि संभावना बोकेको जिल्लाको रुपमा स्थापित बनेको छ । फुटबल देखि क्रिकेटसम्म र अन्य एथ्लेष्टीक्स खेलहरुमा पनि बाजुरा अग्रभागमा देखिन थालेको छ । 

खेल तर्फको युवा आकर्षण बढाउने र राजधानीमा बसोबास गर्ने युवाबीचको सहकार्य बढाउने उदेश्य सहीत प्रतियोगिता आयोजना गरिएको बाजुरा युथ कनेक्टका सहसंयोजक अर्जुन जोशीले बताए । राजधानीको व्यस्त बसाइका बब्ीच पनि युवा बीचको सम्पर्क बढाउने र खेल क्षेत्रलाई प्रवद्र्धन गर्ने लक्ष्य अनुसार नै काम अघि बढाइएको जोशीले बताए ।

खेल र अन्य सामाजिक सेवा र सहकार्यका कामलाई बाजुरा युथ कनेक्टबाट नियमित रुपमा अघि बढाउने संयोजक विमल रोकायाको भनाई छ । राजधानीमा युवा रहर र खेल जीवनमा जोडीएकाहरुको सम्पर्क सम्बन्धका लागि फुटसल आयोजनाले राम्रो सन्देश दिएको आयोजकले बताएको छ । 

प्रतिक्रिया दिनुहोस