काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ ।जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परी घाइते भएका पार्टी सभापति शेरबहादुर देउवा आजको बैठकमा उपस्थित हुने जनाइएको छ । उक्त घटनापछि देउवा पहिलो पटक सार्वजनिक हुँदैछन् । यसअघि बसेको पार्टी पदाधिकारी बैठकमा अनुपस्थित थिए ।
जेन(जी आन्दोलनपछिको परिवर्तित राजनीतिक परिस्थिति र कांग्रेसको आगामी रणनीति लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेस शीर्ष नेताहरूबीच केही दिनदेखि लगातार छलफल भइरहे पनि केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने एजेण्डाबारे टुंगो लाग्न सकेको छैन । आगामी मंसिरभित्रै १५औँ महाधिवेशन गर्नुपर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावमा सहमति जुट्न नसक्दा एजेण्डा टुङ्गो लाग्न नसकेको हो ।
केन्द्रीय समिति बैठकका एजेण्डालाई अन्तिम टुङ्गो लगाउन आजै बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।
केन्द्रीय समिति बैठकमा कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातवटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस