शनिबार, २५ असोज २०८२

जेनजि कुनै दलको विकल्प होइन, दलभित्रै समेटिनुपर्छ : एमाले नेता महर

सत्यराज सिंह/ बझाङ:नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले जेनजि समूह कुनै राजनीतिक संगठन वा वैचारिक समूह नभएको बताएका छन् । जेनजि सुन्दर भविष्य बोकेको र वर्तमान समयको जबरजस्त हिस्सेदार एउटा उमेर समुह भए पनि यसको कुनै वैधानिक तथा आधिकारिक नेतृत्व नभएकाे  महरले बताए । उनले लोकतन्त्रमा राजनीतिक दलहरूको विकल्प सच्चिएका र रुपान्तरित दलहरू नै हुने भएकाले जेनजिले प्रकट गरेका भावना, विचार र आकांक्षालाई दलहरूले आफ्नो संरचनाभित्र समेट्नुपर्ने बताए हुन् ।

उनले भने, ´राजनीतिक दलहरूले जेनजिको भावना र विचारलाई वैचारिक तथा सांगठनिक रूपमा आत्मसात गर्नुपर्छ ।, पार्टीभित्र जेनजि नेतृत्व स्थापित गर्नुपर्छ । यही सहि बाटो हो ।,`

उनले लोकतान्त्रिक व्यवस्थामा दलहरूको विकल्प खोज्न थाल्दा देश अराजकतातिर धकेलिने र विदेशी शक्तिहरू हावी हुने चेतावनी पनि दिएका छन् । उनले भनेका छन्, ´त्यसरी गए लोकतन्त्र र संविधान नै जोखिममा पर्छ ।,` 

महरले हालका केही गतिविधिहरू जेनजिको नाममा भइरहेको भन्दै त्यस्ता स्वार्थी समूहहरूले आन्दोलनको मर्म कमजोर बनाइरहेको टिप्पणी गरेका छन् । उनका भने, ´कतिपयले जेनजिको खोल ओढेका छन् ।, तर देशलाई निकास होइन निराशा दिने काममा लागेका छन् ।`

महरले जेनजिका नाममा सकृय भएका केही व्यक्ति विदेशी संस्थाबाट परिचालित भएर तिनका एजेण्डा स्थापित गर्न खोजिरहेको आरोप पनि लगाए ।

 उनले  प्रधानमन्त्रीको नेतृत्व र कार्यशैलीप्रति पनि टिप्पणी गर्दै भने, ´प्रधानमन्त्री महिला हुनु सकारात्मक पक्ष हो ।, तर उहाँको उद्देश्य, सल्लाहकार र राजनीतिक स्रोतका कारण उहाँ अलमलमा हुनुहुन्छ ।, उहाँ एउटा बुख्याँचा मात्रै बन्नुभएको छ।`

महरले राष्ट्रपति समक्ष देशको वर्तमान अवस्थाबारे चासो व्यक्त गर्दै लोकतन्त्र र संविधानकाे संरक्षक तथा अभिभावककाे नाताले राजनीतिक दलहरूसँग सघन संवाद जारी राख्न र शान्ति, स्थिरता र सहि मार्ग सुनिश्चित गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस