बाजुरा : बाजुराको त्रिवेणी नगरपालिकामा क्रिकेट प्रतियोगिता (सिजन २) सुरु भएको छ । गएको वर्षदेखि सुरुवाद गरिएको प्रतियोगिताको सिजन २ औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । क्रिकेट क्षेत्रको प्रवद्र्धन र विकास गर्न तथा क्रिकेट क्रेजलाई गाउँसम्म जोड्न प्रतियोगिता आयोजना गरिर्दै आएको छ ।
त्रिवेणी स्पोट्र्स क्लबको आयोजना र त्रिवेणी नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष अनिल रावलले जानकारी दिएका छन् । रावलकै अध्यक्षतामा सञ्चालन गरिएको खेलको नेपाली काँग्रेसका जिल्ला सभापति रामसिंह रावलले उद्घाटन गरेका हुन् ।
११ हजार नगद टिम दर्ता शुल्क राखिएको प्रतियोगितामा नौ टिम त्रिवेणी नगरपालिकाका भित्रकै र दुई टिम बुढीगंगा नगरपालिकाबाट गरेर ११ टिम खेलमा सहभागि छन् । १ लाख १५ हजार प्रथम पुरस्कार राशी राखिएको खेलमा सुदूरपश्चिम रोयल्सका चर्चित खेलाडी नरेन साउँद पनि प्रतियोगितामा सहभागि छन् ।
सुरुवादी १० ओभरको खेल खेलाईने प्रतियोगितामा उपविजेतालाई ४९ हजार नगद पुरस्कार र प्रमाण पत्र दिइने आयोजकले बताएको छ । क्रिकेट खेल संस्कारकै रुपमा विकास गर्न त्रिवेणी नगरपालिका ७ को कैलाशेश्वरी माविको खेल मैदानमा आयोजना गर्ने गरिएको छ ।
हरेक वर्ष दशैं र तिहारकै बीचमा त्रिवेणी स्पोट्र्स क्लबले प्रतियोगिताको आयोजना गर्ने गरेको छ । जिल्ला भित्र र बाहिरका खेलाडीहरुले खेलमा भाग लिएका छन् । खेल उद्घाटन समारोहमा नेपाली कांग्रेस बाजुरा जिल्ला सभापति रामसिंह रावल प्रमुख अतिथी रहनु भएको थियो । भने नगरपालिका कार्यबहाक नगर प्रमुख जुद्ध बहादुर अयडी सहीत नेताहरु सहभागि थिए ।
खेल उद्घाटनको पहिलो दिन नर्सिङ क्रिकेट क्लब र रोयल ठाना क्लबबीच पहिलो खेल भएको छ । खेलमा रोयल ठाना क्लबले नर्सिङ क्रिकेट क्लबलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत भोलि बिहान ७ः३० बजे दोस्रो खेल हुनेछ । सो खेलमा तोली क्रिकेट क्लब र नाटेश्वरी क्लबबीच हुने आयोजकले बताएको छ ।
प्रतियोगिताले खेल क्षेत्रको विकाससँगै खेलाडी उत्पादन र खेल प्रतिको आकर्षण बढ्ने विश्वास आयोजकले लिएको छ । स्थानीय युवा प्रतिभाहरूको पहिचान, खेलकुद विकास तथा आपसी सद्भाव बढाउने गरि प्रतियोगिताको सन्देश दिनु पर्ने सुझाव नेपाली काँग्रेसका सभापति रामसिंह रावलको छ ।
प्रतिक्रिया दिनुहोस