मङ्गलबार, ०१ असोज २०८१

देशको अवस्था हेर्दा रुन मन लाग्छ : शेखर कोइराला

सरकारले अलोकप्रिय निर्णयहरू गर्ने गरेकाले कांग्रेस यो सरकारमा बसिरहन नहुने सुझाव

काठमाडौ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशको अवस्था देख्दा रुन मन लाग्ने बताएका छन्।काठमाडौंको नयाँ बानेश्वरस्थित वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालको निवासमा भएको छलफलमा उहाँले आज यस्तो बताएका हुन् । 


छलफलका क्रममा उनले भने, ‘नत हामी ठिक भयौँ, न काम गर्ने शैली, जता हेर्‍यो भताभुङ्ग र लथालिङ्ग छ। चित्त बुझाउने कतै केही छैन, देशको अबस्था हेर्दा रुन मन लाग्छ, आँशु आउछ ।’कोइरालाले देश यतिबेला असाध्यै अप्ठ्यारो अवस्थामा परेको गुनासो गरेका छन् । उनले थपे,‘कुनै पनि काण्ड आउँछ त्यसको अनुसन्धान टुङ्गोमा नपुग्दै तुहिन्छ, अनि जनतालाई हामीले के जवाफ दिने ? दिक्क भैसक्यो।’

उनले  नेपाल अन्तर्राष्ट्रिय तस्करीको अखडा बनिसकेकाले अन्तर्राष्ट्रिय समुदाय सामु देशको साख गिरेको बताए । छलफलमा कोइरालाले अब देश बन्दैन भनेर बुद्धिजीवीहरूले आस मारेको भएर पनि यस्तो अवस्था आएको बताएका छन् ।

कोइरालाले राजनीतिक दल र सरकारलाई खबरदारी गरिदिन बुद्धिजीवीहरूसँग आग्रह समेत गरेका छन् । कार्यक्रममा सहभागीहरुले महङ्गी, भ्रष्टाचार र दण्डहीनताले सीमा नाघेको, भूराजनीति चौपटमा परेको र सरकारले एकपछि अर्को अलोकप्रिय निर्णयहरू गर्ने गरेकाले कांग्रेस यो सरकारमा बसिरहन नहुने सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस