बाजुरा : पीसविन नेपालको केन्द्रीय कार्य समितिमा नयाँ नेतृत्व आएको छ । पीसविनको १० औं अधिवेशनबाट विमला थापा दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी हुन् । थापा यस अघिल्लो नवौं अधिवेशनबाट पीसविन केन्द्रीय कार्यसमितिको अध्यक्षमा पहिलो कार्यकालका लागि निर्वाचित भएकी थिइन् ।
पीसविन ३६ वर्ष पहिला साविकको आटीचौर गाउँ विकास समितिको ४ नम्बर वडा ओली गाउँमा स्थापना भएको गैर सरकारी संस्था हो । न्याय, समानता, मानव अधिकारी, महिला तथा बालबालिकाको प्रवद्र्धन र विकासका लागि साढे तीन दशकदेखि सामाजिक सेवाको काममा सक्रिय छ ।
मार्तडीमा सम्पन्न केन्द्रीय अधिवेशनबाट अध्यक्षमा पुनः विमला थापा दोहोरिदाँ उपाध्यक्षमा बृजनबहादुर शाही, महासचिव पार्वती जोशी, कोषाध्यक्ष सरिता नेपाली, सदस्य दुर्गा कुमारी रोकाया थापा, उमा कटुवाल, धनलक्ष्मी जोशी, अनिता बोहरा र मानबहाखुर खड्का निर्वाचित भएका छन् ।
सर्वसम्मत नौ सदस्यीय केन्द्रीय कार्य समिति चयन गरिएको निर्वाचन समिति संयोजक काशी प्रसाद जोशीले जानकारी दिएका हुन् । पीसविन बाजुरा सहीत सुदूरपश्चिमका बैतडी र दार्चुला बाहेक सात वटा जिल्लामा कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ । प्रादेशीक कार्यालय धनगढीमा सञ्चालन गरेको पीसविनले सुशासन, विकास निर्माण, लैगिक समानता, महिला अधिकार, यौन तथा प्रजनन शिक्षा, बालबालिका र युवा अधिकार तथा उद्यम विकासका क्षेत्रमा काम गरिरहेको छ ।
३६ औं स्थापना दिवस, ३३ औ बार्षिक साधारण सभा र १० औं अधिवेशनको बडीमालिका नगरपालिकाका नगर उपप्रमुख नन्दा कुमारी थापाले दीप प्रज्वलन सहीत उद्घाटन गरेकी हुन् । उद्घाटन समारोहमा पीसविन केन्द्रीय समिति सल्लाहकार लालबहादुर ओली, गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा, उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकाया, पत्रकार महासंघका सचिव प्रेम रौले, बडीमालिका ३ का वडा अध्यक्ष डबल रोकाया, ९ का वडा अध्यक्ष सूर्यकिरण विक सहीतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
सरिता नेपालीले सञ्चालन गरेको उद्घाटन समारोह पछिको बन्द सत्रमा निर्वतमान कोषाध्यक्ष पार्वती जोशीले आर्थिक र अध्यक्ष विमल थापाले संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । पीसविन नेपालले निर्मला खडायतलाई वर्ष उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरेको छ ।
उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले पीसविनले समग्र जिल्ला र सुदूरपश्चिमको विकासमा ठूलो योगदान पुर्याएको बताएका छन् । भौतिक निर्माण देखि मानव विकासका क्षेत्रमा अतुलनीय योगदान पुर्याएकोमा संस्था प्रति धन्यवाद दिएका छन् ।
पीसविन संस्थापक तथा सल्लाहकार लालबहादुर ओलीले समाजलाई सचेत पार्ने, जिम्मेवार बनाउने, विकास र सुशासनलाई थप प्रभावकारी र बलियो बनाउने यात्रामा सहयोग गर्ने, साथ दिने र शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद दिएका छन् । निर्वाचित अध्यक्ष विमला थापाले पीसविनको उचाईलाई थप अग्लो बनाउन र सामाजिक रुपान्तरणको अभियानलाई प्रभावकारी बनाउने गरि पीसविन अघि बढ्ने प्रतिवद्धता जनाएकी छन् ।
प्रतिक्रिया दिनुहोस