बिहिबार, २३ असोज २०८२

सुदूरपश्चिममा एमालेले मन्त्रीले दिएका पारिवारिक नियुक्ति खारेज गर्ने

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मन्त्री र राज्यमन्त्रीहरूले स्वकीय सचिवदेखि भान्सेसम्म आफ्नै परिवारका सदस्यलाई दिएको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ।

संसदीय दलको कार्यालय आगलागीमा नष्ट भएपछि आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीको सरकारी निवासमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा मन्त्रीहरू हिरा सार्की, सुरेन्द्र पाल र वीरबहादुर थापा सहभागी थिए भने राज्यमन्त्री निर्मला साउद अनुपस्थित थिइन्।

बैठकमा सांसदहरूले आफन्तलाई जिम्मेवारी दिएको भन्दै तीव्र आलोचना गरेका थिए। अब मन्त्री मात्र होइन, सांसद र समिति सभापतिहरूले पनि परिवारका सदस्यलाई राख्न नपाउने र राखेका भए हटाउनुपर्ने निर्देशन दिइएको छ।

त्यस्तै, बैठकले जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र लुटपाटबारे संसदीय समिति गठन गर्नुपर्ने माग सरकारलाई गर्ने निर्णय गरेको छ। एमाले संसदीय दलका प्रमुख सचेतक चक्र मल्लका अनुसार जिल्ला–जिल्लामा भएका क्षतिको प्रतिवेदन संसद्ले संकलन गर्नेछ।

प्रतिक्रिया दिनुहोस