बिहिबार, २३ असोज २०८२

मार्तडी—कोल्टी सडकखण्ड तीन महिना पछि खोल्न सुरु

बाजुरा:  मार्तडी–कोल्टी सडकखण्ड खोल्ने कार्य सुरु गरिएको छ । बर्षातमा आएको पहिरो र खोला बगाउँदा अवरुद्ध भएको सडक खण्डलाई पुनः सञ्चालनमा ल्याउन सुरुवात गरिएको हो । बाजुराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलका अनुसार पूर्वाधार विकास कार्यालय, बडीमालिका नगरपालिका र बुढीनन्दा नगरपालिकाको सहकार्यमा सडक खोल्ने काम भइरहेको छ ।

बुढीनन्दाको डोजर प्रयोग गरी विभिन्न स्थानमा खसेको पहिरो हटाउने कार्य भइरहेको र केही दिनमै सडक सुचारु हुने जानकारी दिएका छन् । त्यस्तै, बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक बोहराले दसैँ नजिकिँदै गर्दा यात्रुहरूले ५ वटा गाडी फेरेर यात्रा गर्नुपर्ने बाध्यता हटाउन पालिकाको डोजर पठाइएको बताए । सदरमुकाम मार्तडीलाई जिल्लाको पूर्वीउत्तरी भेगसँग जोड्ने उक्त सडकखण्ड असार दोस्रो सातादेखि अवरुद्ध हुँदै आएको थियाे ।

स्थानीयका अनुसार बडीमालिका–७ को जिल्ली, रजातोली, ढम्कने भासुपातलमा ठूलो पहिरो खसेको छ भने बाउली, रजातोली र दानसाँघु खोलामा पुल नहुँदा यातायात पूर्ण अवरुद्ध भएको छ । सडक बन्द हुँदा सामान ढुवानीदेखि यात्रु आवतजावतमा समेत ठूलो समस्या भएको छ । हाल दशैँ–तिहारको अवसरमा भारत तथा अन्य शहरबाट गाउँ फर्किनेको भीड बढेसँगै सडक खुलाउन गरिएको प्रयासले स्थानीयलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

सडक सञ्चालनमा आएपछि बाजुराको पूर्वीउत्तरी भेगका चार पालिकासहित छिमेकी हुम्ला, मुगु र कालिकोटका नागरिकहरूलाई पनि आवतजावतमा सहज हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस