बिहिबार, २३ असोज २०८२

बाजुराका स्थानीय तह पुरानै अवस्थामा, खटाईएका हाकिम आएनन्

बाजुरा :बाजुराका स्थानीय तहमा खटाईएका प्रमुख प्रशासकीय अधिकृतहरु हालसम्म नआउँदा पुरानै अवस्थामा चल्न थालेका छन्। संघीय मन्त्रालयबाट बाजुराका स्थानीय तहमा खटाइएका अधिकृतहरु हालसम्म आउँन सकेका छैनन्।

मन्त्रालयले सरुवा गरेरको करिब १ महिना पुगिसक्दा पनि अधिकृतहरु हाजिर हुन सकेका छैन्। खटाईएका प्रशासकीय अधिकृत हालसम्म नआउँदा यहाँका स्थानीय तह पुनः पुरानै लयमा चल्न थालेका हुन्। भदौ दोस्रो साता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाजुराका ६ पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको थियो।

अहिले कतिपय प्रशासकिय अधिकृत स्थानीय तहको सम्पर्कमा समेत नरहेको पाईएको हो। मन्त्रालयले खटाएका कर्मचारी बाजुराका स्थानीय तहमा अहिलेसम्म पुग्न नसक्दा सबै स्थानीय तहको काम पुरानै लयमा सञ्चालन भईरहेको त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापाले बताए।

मन्त्रालयले बडीमालिका नगरपालिकामा लोकराज जोशी, त्रिवेणी नगरपालिकामा सत्यराज जोशी, बुढीनन्दा नगरपालिकामा भोजराज भट्ट, खप्तड छेडेदह गाउँपालिकामा घनश्याम अर्याल, जगन्नाथ गाउँपालिकामा दिलिप सुवेदी र गौमुल गाउँपालिकामा नविन पोख्रेललाई जिम्मेवारी दिएर खटाएको थियो। तर उनीहरुलाई खटाएको महिनौ बितिसक्दा पनि स्थानीय तहमा आईपुगेका छैनन्।

९ स्थानीय तहमध्ये बुढीगंगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पाएको थियो भने स्वामीकार्तिक  र हिमाली गाउँपालिकामा यस अघि नै दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत कार्यरत रहेका छन्।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ मा प्रमुख प्रशासकीय अधिकृत नियुक्त नभएसम्मका लागि नेपाल सरकारले निजामती सेवाको कुनै अधिकृत कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गर्न खटाउन सक्ने छ भन्ने उल्लेख छ।

मन्त्रालयबाट खटाईएका अधिकृतहरु हालसम्म पुग्न नसक्दा यहाँका कतिपय स्थानीय तहमा आर्थिक कामकाज पूर्ण रुपमा ठप्प छन्। तर केही पालिकामा भने पुरानै निमित्तलाई मन्त्रालयले अधिकार दिएर पुनः कामकाज सुरु गरिसकेको बताईएको छ।

मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतहरु हाजिर नभएपछि फेरि निमित्तलाई आर्थिक तथा प्रशासनिक अधिकार दिएर कामकाज सुरु गर्न थालिएको हो।

प्रतिक्रिया दिनुहोस