बिहिबार, २३ असोज २०८२

आकाशभरिका ताराहरू, अञ्जुलीभरिका आशा ,अर्जुन राज जोसी

साँच्चै, म सपनामा छु या बिपनामा ?

न निदाएको छु, न म ब्युँझेको नै छु।

सायद यो हुन सक्छ, ऐँठन।

यी आँधी-तुफानहरू,

यी हुरी-हुण्डरीहरूले कुन दिशा लिँदैछन्?

बरालिँदैछु म अन्यमनस्कतामा।

यो तरलताले म आफैँ तरल भइसकें।

यो वाष्पीकरणले म आफैँ वाष्प भइसकें।

उडिरहेको छु बेलगाम।

पिरोलिरहेको छ यो दिशाहीनताले, यो अन्त्यहीन सिलसिलाले।

दबाइरहेका छन् घाँटी मुर्कट्टाहरूले।

मुर्छित छ मन,

चिच्याउन खोजिरहेको छु,

निस्किरहेको छैन शब्द घाँटीबाट, ओठबाट।

चाहेको छ मनले—

आकाशभरिका ताराहरू,

अञ्जुलीभरिका आशा,

कलकल नदी र झरना,

चम्किला हिमखण्डहरू,

र सगरमाथाको पूर्ण उचाइ।

अब,

छिट्टो टुङ्गियोस् यो मुर्दाजस्तो परिवेश,

अन्त्यहीन सिलसिला।

सकियोस् तन्द्रा, अब टुटोस् ऐँठन

प्रतिक्रिया दिनुहोस