बिहिबार, ०२ असोज २०८२

जेनजी आन्दोलनका एजेण्डासँग ऐन महरको समर्थन, अराजकता र लुटपाटको विरोध

बझाङ :नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरले जेनजी आन्दोलनका मूल एजेण्डाहरूलाई आफूले समर्थन गरेको तर आन्दोलनको नाममा देखिएको अराजकता, आगजनी र लुटपाटलाई भने कदापि समर्थन नगर्ने बताएका छन् । उनले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

विहिबार सामाजिक सञ्जालमार्फत महरले आन्दोलनमा उठेका राजनीतिक तथा सामाजिक एजेण्डा युवापुस्ताको लागि महत्वपूर्ण रहेको दोहो¥याए । उनले भने, ‘तर व्यक्तिगत सम्पत्ति जलाउने, सार्वजनिक संरचना नष्ट गर्ने, बैंक र होटेलमा लुटपाट गर्ने जस्ता गतिविधि क्षम्य छैनन् ।’ उनले त्यस्ता घटनाका योजनाकार, उक्साउने र संलग्नहरूलाई छानबिन गरी कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

महरले यसै क्रममा आफूलाई लक्षित गर्दै योजनाबद्ध आक्रमणको प्रयास भएको खुलासा गरेका छन् । भदौ २४ गते आफ्नै घर जलाउने र हत्या गर्ने षड्यन्त्र भएको थाहा पाउँदा दुःखीत भएको उल्लेख गरेका छन् । उनले भने, ‘केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत मलाई मार्ने र म बस्ने घर जलाउने अभियानसमेत चलाएको देखियो । असाध्यै दुख लाग्यो । तर यसले म अलिएको छैन, बरु अझ दृढ र आत्मविश्वासी बनाएको छ ।’

उनले अहिलेसम्म कुनै पनि सरकारी पद वा सुविधा नलिएको र आफ्ना गतिविधि श्रीमतीको आय आर्जन तथा आफन्त र शुभेच्छुकको सहयोगमा अघि बढाएको पनि स्पष्ट पारेकाछन् । समाजसेवा र राजनीतिमा निरन्तर सक्रिय रहँदै आफूले गरिब, विरामी र विद्यार्थीलाई सकेसम्म सहयोग गर्दै आएको उनले बताए ।

दोषी पहिचान भइसकेको र केही व्यक्तिहरू अनुसन्धानको दायरामा रहेको बताउँदै उनले थप प्रमाण हुनेले उपलब्ध गराई सहयोग गर्न आग्रह गरेका छन् । त्यस्ता व्यक्तिहरूलाई कानुनी मात्र होइन सामाजिक कारबाहीमा ल्याइने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस