बिहिबार, ०२ असोज २०८२

जेन–जिको बाजुरा सदरमुकाममा आन्दोलन, भष्ट्राचारको अन्त्यकाे माग

बाजुरा–  जेन–जिको आन्दोलनमा  बाजुराका युवाहरूले ऐक्यवद्धता जनाउँदै सदरमुकाम मार्तडीमा आन्दोलनको सुरुवात गरेका छन् । मंगलवार बिहान १० बजेदेखि नेपाल टेलिकम कार्यालय परिसर अगाडिबाट शान्तिपूर्ण आन्दोलन सुरु गरेका हुन। सामाजिक सञ्जाल बन्द गरिएको र अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले अंकुश लगाएको आरोप लगाउँदै उनीहरू आन्दोलनमा उत्रिएका छन् ।Open photo
युवा आन्दोलनमा संलग्न युवाहरूले शान्तिपूर्ण तर दृढ स्वरमा आफ्नो माग प्रस्तुत गर्ने तयारी गरेका छन् । उनीहरूले तोडफोड वा हिंसात्मक गतिविधि नगरी कानुनी दायराभित्र रहेर विरोध गर्ने बताएका छन् । “हामीलाई हिंसाबाट होइन, आवाजबाट परिवर्तन चाहिएको हो । त्यसैले सडकमा शान्तिपूर्ण रूपमा उपस्थित भएर अन्याय विरुद्ध बोल्छौं,” एक आन्दोलनकारी युवाले भने । बाजुरा जिल्लाका युवाहरूले आफूहरूले भोगिरहेको बेरोजगारी, भ्रष्टाचार, शिक्षा र स्वास्थ्यमा भएको चरम लापरबाही, तथा जनताको आवाज सुन्ने सरकारी इच्छाशक्तिको कमी नै आन्दोलनमा उत्रिनुको प्रमुख कारण भएको बताएका छन् ।

हालै सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि विशेषगरी विद्यार्थी र जागिर खोज्ने युवाहरू बढी प्रभावित भएका छन् । “सामाजिक सञ्जाल हाम्रो पुस्ताको आवाज उठाउने प्रमुख माध्यम हो । त्यसलाई बन्द गर्नु भनेको हाम्रो घाँटी थिच्ने प्रयास हो,” अर्का युवाले आक्रोश पोख्दै भने । नेपाल टेलिकम बाजुरा कार्यालय अगाडिबाट सूरुवात भएको प्रदर्शन बजार प्ररिक्रमा गरि खुलामंचबाट फर्केर लोकतान्त्रीक चोकमा कोडसभाको आयोजना गरेको छ । आयोजकले स्थानीय प्रशासनलाई औपचारिक जानकारी गराइसकेका छन् । जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा कायम गर्ने प्रतिबद्धता जनाएको छ भने आयोजक पक्षले कुनै अव्यवस्था नगर्ने प्रतिवद्धता जनाएको छन ।

जेन–जिको नेतृत्वमा सुरु भएको आन्दोलन अहिले देशभर फैलिँदै गएको छ । काठमाडौं, पोखरा, विराटनगर, नेपालगञ्जलगायत ठूला शहरमा भएको प्रदर्शनसँगै ग्रामीण जिल्लाहरूबाट पनि समर्थन आउन थालेको हो । बाजुराका युवाहरूले दिएको समर्थनले यो आन्दोलनलाई अझै सशक्त बनाउने बताएका छन । राजनीतिक विश्लेषकहरू भन्छन्, “यो आन्दोलन अब केवल शहरी क्षेत्रमा सीमित छैन । ग्रामीण जिल्ला, विशेष गरी बाजुरा जस्ता पराधीन र अविकसित क्षेत्रका युवाले ऐक्यवद्धता जनाउनु आन्दोलनको दायरा फराकिलो भएको संकेत हो ।”
बाजुरामा हुने भनिएको शान्तिपूर्ण प्रदर्शनबारे सर्वसाधारणमा पनि चासो बढेको छ । कतिपयले युवाको कदमलाई सकारात्मक भन्दै समर्थन गरेका छन् भने कतिपयले आन्दोलन दीर्घकालीन समाधान दिन सक्दैन भन्ने चिन्ता व्यक्त गरेका छन् । तर, अधिकांश अभिभावकले भने आफ्नो छोराछोरी सचेत बनेर शान्तिपूर्ण तरिकाले देशको हितका लागि आवाज उठाउन थालेकोमा खुशी व्यक्त गरेका छन् ।Open photo

जेन–जिको आन्दोलनलाई बाजुराका युवाले समर्थन गर्ने घोषणासँगै यो आन्दोलन अब केवल एक पुस्ताको असन्तोष मात्र नभई राष्ट्रिय स्तरको चुनौतीका रूपमा देखा पर्न थालेको बताएका छन । बेरोजगारी, भ्रष्टाचार र असमानताले पीडित गाउँ–गाउँका युवा सडकमा उत्रिन बाध्य सरकारबाटै भएको उनिहरुको भनाई रहेको छ ।Open photo

प्रतिक्रिया दिनुहोस