मङ्गलबार, २४ भदौ २०८२

कांग्रेस पदाधिकारी बैठक सुरु, उपप्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई बोलाइयो

काठमाडौँ : जेनजी आन्दोलनका क्रममा १७ जनाको मृत्यु भएपछि त्यसबारे छलफल गर्न सत्तारुढ दल नेपाली कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सुरु भएको छ । 

बैठकमा कांग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकलाई बोलाइएको हो । उनीहरू दुवै जना बैठकमा पुगिसकेको स्रोतले जानकारी दियो । 

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सस्कृति पर्यटन नागरिक उड्डयनमन्त्रीसमेत रहेका सहमहामन्त्री बद्री पाण्डेसहितका नेताहरू छन् ।
उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ भने काठमाडौँमा नरहेकाले उपस्थित नभएको स्रोतले बतायो । 

जेनजी आन्दोलनका क्रममा ठूलो मात्रामा हताहती भएपछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताइरहेका बेला देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । यसबारे पनि छलफल हुने एक नेताले बताए । 

सभापति देउवाले यसअघि पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई आफ्नो निवासमा बोलाएर छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस