ललितपुर: नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशनमा आज समूहगत छलफलको सुझाव पेस गरिँदैछ ।प्रचार विभाग प्रमुख गौतमका अनुसार महाधिवेशनमा प्रस्तुत गरिएका सातवटा प्रतिवेदनमाथिको समूहगत छलफलपछि आज समूहका नेताले प्रतिवेदनमाथिको सुझाव प्रस्तुतीकरण गर्ने छन् । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका समूह नेताले प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्ने छन् ।
यस्तै उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवास तथा केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना र केन्द्रीय निकाय प्रतिनिधिले पनि प्रतिवेदनमाथि समूह नेताले सुझाव दिने छन् ।
समूह नेताले आआफ्नो समूहको प्रतिवेदनमाथि सुझाव दिइसकेपछि सोही सुझावका आधारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची छ ।
अध्यक्ष ओलीले समूहबाट आएका सुझावमा जवाफ दिएसकेपछि कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुङ्गो लगाई एकीकृत रूपमा पार्टी विधान पारित गरेर बैठक समापन गरिने गौतमले जानकारी दिए ।
त्यसैगरी, आज नै समसामयिक प्रस्ताव पारित गर्दै गर्ने कार्यसूचीसमेत रहेको छ । महाधिवेशनमा आज केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने कार्यसूचीसमेत रहेको गौतमले जानकारी दिए ।
ललितपुरको गोदावरीमा शुक्रबार सुरु भएको विधान महाधिवेशनमा प्रस्तुत अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिव शङ्कर पोखरेलको साङ्गठनिकलगायत सात प्रस्तावमाथि शनिबार विभिन्न १० समूहमा छलफल भएको थियो ।
महाधिवेशनमा देशभरबाट दुई हजार २६ प्रतिनिधि र आयोजककातर्फबाट तीन सय १५ जना गरी दुई हजार ३४१ जनाको सहभागिता छ ।
प्रतिक्रिया दिनुहोस