बिहिबार, ०२ असोज २०८२

बडीमालिका मष्टोदेवल ज्ञानविज्ञान धार्मिक महामहोत्सवकाे सचिवालय उद्घाटन

बाजुरा : जिल्लाकाे त्रिवेणी नगरपालिका वडा नं ४ स्थित तोली देवलडाँडा माध्यमिक विद्यालयमा बडीमालिका मष्टोदेवल ज्ञानविज्ञान धार्मिक महामहोत्सव आयोजक समितिको सचिवालय उद्घाटन गरिएको छ ।

महाँयज्ञ आयोजक मूल समितिका संयोजक, तोली देवलडाँडा माध्यमिक विद्यालयका विव्यस अध्यक्ष तथा त्रिवेणी नगर वडा नं ४ का वडाध्यक्ष गणेशबहादुर साउदको अध्यक्षतामा आयोजित सचिवालय समुद्घाटन समारोहका प्रमुख अतिथि त्रिवेणी नगरप्रमुख कर्णबहादुर थापाले सचिवालयको ब्यानर पढी समुद्घाटन गर्नुभयो । कार्यक्रममा त्रिवेणी नगर उपप्रमुख कमलाकुमारी जैशी न्यौपाने, नगर प्रबक्ता मीनबहादुर भण्डारी समेत मूल आयोजक समिति पदाधिकारीहरु र स्थानीय बुद्धिजीवी तथा समाजसेवीको उल्लेख्य उपस्थिति रहेको थियो ।

 त्रिवेणी नगरपालिका वडा नं ४ स्थित श्री तोली देवलडाँडा माध्यमिक विद्यालयमा अनाथ तथा टुहुरा बालबालिकाहरूको लागि आवासीय सुविधा थप गर्ने, विद्यालयका लागि जग्गा खरिद र शैक्षिक भौतिक सुधार सहित विद्यालयको सर्वाङ्गीण विकासका लागि महायज्ञ आयोजना गर्ने गरी विश्वविख्यात कथाबाचक श्री चैतन्यकृष्ण महाराज प्रमुख बाचक सहित ख्यातीप्राप्त कलाकारहरूको उपस्थितिमा आगामी मंसीर ८ देखि १४ गतेसम्म श्री बडीमालिका मष्टोदेवल ज्ञानविज्ञान धार्मिक महामहोत्सव आयोजना गरिने महायज्ञ आयोजक मूल समितिका महासचिव तोली देवलडाँडा माविका प्रधानाध्यापक बिष्णुप्रसाद ओझाले बताउनुभयो । उद्घाटनकै दिन २२ जना दानवीरहरूले १ लाख ११ हजार देखि ११०० सम्म रकम दान गर्नुभएको र आजकै दिन ५ लाख २६ हजार ३ सय २१ रकम महायज्ञका लागि दान प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस