बाजुरा : बुढीनन्दा नगरपालिकाअन्तर्गत कोल्टी आधारभूत अस्पताललाई स्वास्थ्य खबर पत्रिकाको १६औं वार्षिकोत्सव तथा १३औं हेल्थ अवार्ड कार्यक्रममा ‘उत्कृष्ट स्वास्थ्य संस्था’ विधामा पुरस्कृत गरिएको छ। स्वास्थ्य सेवामा निरन्तर सुधार र सक्रिय नेतृत्वकै कारण अवार्ड प्रदान गरिएको हो। नगर प्रमुख जनककुमार बोहराले पदभार सम्हालेदेखि नै स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै सुधारात्मक कदम चालेका थिए।
नगरपालिकाको पहल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँगको सहकार्यमा अस्पतालमा स्त्रीरोग विशेषज्ञ, ओटी नर्स, डिजिटल एक्स–रे, रक्तसञ्चार सेवा, एमडिजिपी, एनेस्थेसिया, फार्मासिस्ट, रेडियोग्राफर, डेन्टल हाइजिनिष्ट, अप्थाल्मिक असिस्टेन्टलगायत जनशक्ति थपिएका छन्। गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्स–रे, प्रयोगशालाको डिजिटलीकरण, अनलाइन प्रतिवेदन प्रणाली, डिजिटल बिलिङ सेवा जस्ता आधुनिक सुविधा सुरु भएका छन्।
यस्तै, प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा रहेको कोल्टी अस्पताललाई आधारभूत अस्पतालमा स्तरोन्नति गर्दै आँखा सेवा, दन्त सेवा, आकस्मिक प्रसूति सेवा, अस्पताल फार्मेसी, फोहोर व्यवस्थापन, भवन मर्मत, खानेपानी तथा विद्युत् सेवा व्यवस्थापन जस्ता महत्वपूर्ण पहलहरू कार्यान्वयनमा आएका छन्। नगर प्रमुख बोहरा, स्वास्थ्य शाखा प्रमुख ओम जुङ शाही, अस्पताल प्रमुख डा. रणजीत शाह, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा समाजसेवीहरूको सामूहिक प्रयासका कारण दुर्गममा अवस्थित कोल्टी अस्पतालले सुगम क्षेत्रसरहको स्वास्थ्य सेवा दिइरहेको छ। स्वास्थ्य क्षेत्रमा देखाएको निरन्तर योगदानको कदर गर्दै कार्यक्रममा मेयर बोहरालाई पनि सम्मान गरिएको हो।
प्रतिक्रिया दिनुहोस